प्रकृति, संस्कृति र इतिहासको त्रिवेणी : रघुगङ्गाको वैभव

काठमाडौँ, जेठ २८ । पवित्र कालीगण्डकी नदीको कलकल सुसाहटदेखि विश्वको सातौँ अग्लो धौलागिरि हिमालको सेतो शिरसम्म फैलिएको एउटा सुन्दर भूगोल, रघुगङ्गा । म्याग्दीको उत्तर–पूर्वी भेगमा अवस्थित यो गाउँपालिका केवल एउटा प्रशासनिक एकाइ मात्र होइन, यो त प्रकृति, संस्कृति र इतिहासको यस्तो अनुपम सङ्गम हो, जसले जो कोहीलाई मन्त्रमुग्ध बनाउँछ ।

भूगोलमा लुकेको स्वर्ग
धौलागिरिको काखबाट बग्ने रघुगङ्गा नदीको नामबाट नामाकरण गरिएको यस क्षेत्रको भौगोलिक बनावट आफैँमा अनौठो छ । यहाँ मगर, छन्त्याल, थकाली, ठकुरी, बाहुन, क्षेत्री र दलित समुदायको सघन बसोबास छ । फरकफरक भूगोल र समुदायका बाबजुद यहाँको सामाजिक सद्भाव र सहअस्तित्वले रघुगङ्गालाई एक ‘जीवन्त सांस्कृतिक सङ्ग्रहालय’को रूप दिएको छ ।

पर्यटनको नयाँ गन्तव्य: ‘ट्रेकिङ ट्रान्जिट’
बेनी–मुस्ताङ सडक विस्तारसँगै पुराना पदमार्गहरू हराउँदै गएका बेला रघुगङ्गाले मुस्ताङ जोड्ने नयाँ ‘ट्रेकिङ ट्रेल’का रूपमा आफूलाई उभ्याएको छ । यहाँ धौलागिरि आइसफल, धौलागिरि सेञ्चुरी र टोड्के-धौलागिरि पानोरमा जस्ता तीनवटा महत्वपूर्ण पदमार्गहरू छन् ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्य भन्नुहुन्छ, “रघुगङ्गामा पर्यटनको अथाह सम्भावना छ । यहाँ क्याम्पिङ ट्रेकिङका लागि उत्कृष्ट ठाउँहरू छन् । अब सूचना बोर्ड, आश्रयस्थल र पदमार्ग जस्ता पूर्वाधारमा ध्यान दिनु जरुरी छ ।” गाउँपालिकाले १८२ किलोमिटर लामो धौलागिरि आइसफल पदमार्गको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरी पूर्वाधार विकासमा पहल थालिसकेको अध्यक्ष भवबहादुर भण्डारी बताउनुहुन्छ ।

यस पदमार्गमा यात्रा गर्दा डाँफे, मुनाल, कस्तुरी र हिमचितुवा जस्ता वन्यजन्तु मात्र होइन, कालिबराह र निलबराह जस्ता मनमोहक तालहरूको पनि प्रत्यक्ष अवलोकन गर्न सकिन्छ ।

आध्यात्मिक र ऐतिहासिक विरासत
रघुगङ्गाको पहिचान हिमालसँग मात्र जोडिएको छैन, यसको आध्यात्मिक जग पनि निकै बलियो छ । समुद्री सतहदेखि ४,६०० मिटर उचाइमा रहेको रिखार क्षेत्र धार्मिक र प्राकृतिक पर्यटनको दुर्लभ नमुना हो । यहाँको तालमा रहेको डुङ्गा आकारको ढुङ्गामा बनेको मन्दिरले सबैको ध्यान तान्छ ।

यस्तै, गायत्री मन्दिर, टोड्केको स्वर्गाश्रम, भगवती कोत र रुइसे जस्ता स्थलहरूले यहाँको ऐतिहासिक विरासत बोकेका छन् । रुइसेमा बाइसे–चौबिसे राज्यका पालाका दरबारका भग्नावशेष अझै भेटिन्छन् । ऐतिहासिक सन्दर्भमा, १८६३ सालमा रानी सुवर्ण प्रभा देवी शाहले तीर्थयात्रीका लागि बनाएको रानीपौवा र दोस्रो विश्वयुद्धमा बेलायतको सर्वोच्च पदक ‘भिक्टोरिया क्रस’ प्राप्त गर्ने वीर योद्धा तुलबहादुर पुनको जन्मथलो बाँदुकले रघुगङ्गाको गरिमालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याएको छ ।

संस्कृतिको सुगन्ध र साहसिक पर्यटन
रघुगङ्गा सांस्कृतिक रूपमा निकै धनी छ । यहाँको ‘थाली नाच’ अहिले विश्वभर चर्चित छ, जसको उद्गमस्थल चिमखोला हो । यस नाचकी सर्जक हिरामाया श्रीष पुन अझै जीवित इतिहासका रूपमा हुनुहुन्छ । दग्नाममा मनाइने ४०० वर्ष पुरानो ‘लिङ्गो जुधाउने’ परम्परा र प्रकृति पूजाका रूपमा मनाइने भूमे पूजा यहाँका मौलिक आकर्षण हुन् ।

साहसिक पर्यटकका लागि यहाँको ‘भिर मह सिकार’ अर्को रोमाञ्चक पक्ष हो । अग्ला पहाडमा झुन्डिएर गरिने मह सिकारले विदेशी पर्यटकलाई समेत आकर्षित गर्दै आएको छ ।

समृद्धिको आधार: पर्यटन र स्थानीयता
पर्यटनलाई आयआर्जनसँग जोड्न गाउँपालिकाले झीँ, रायखोर, मौवाफाँट र रानीपौवामा घरबास (होमस्टे) सञ्चालनमा ल्याएको छ । प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेल भन्नुहुन्छ, “हामी पदमार्ग, भ्यूटावर र पार्क जस्ता पूर्वाधार बनाउँदै छौँ । पर्यटनमार्फत रघुगङ्गाको समृद्धि सम्भव छ ।”

धार्मिक आस्था, ऐतिहासिक गौरव र प्राकृतिक सुन्दरताको मुटु मानिने रघुगङ्गाले अहिले बिस्तारै आफ्नो परिचय बदल्दै छ । यो केवल एउटा गाउँपालिका मात्र नरही, नेपालको पहाडी जनजीवन र प्राकृतिक वैभव बुझ्न चाहने जो कोहीका लागि एक अनिवार्य गन्तव्य बन्दैछ ।