मुल सडकको मात्र होइन, भित्री सहर गल्ली र चोकको समग्र ट्राफिक र पार्किङ व्यवस्थापनमा कार्यवाहक प्रमुखको जोड

काठमाडौँ,  जेठ २८  । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सहरको समग्र ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन मुख्य सडक मात्र नभई भित्री गल्ली र चोकहरूमा समेत ध्यान दिनुपर्ने बताउनुभएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेसँगको भेटवार्तामा उहाँले यस्तो धारणा राख्नुभएको हो ।

भेटका क्रममा कार्यवाहक प्रमुख डंगोलले भन्नुभयो, “मुख्य सडकमा पार्किङ हटाएर सहरको मुहारमा सुधार देखिए पनि भित्री गल्ली र चोकहरूको चाप व्यवस्थापन नभएसम्म यो पूर्ण हुँदैन । सवारी चालकले सहजै पहिचान र उपयोग गर्न सक्ने गरी पार्किङको वैज्ञानिक विकल्प र सुविधा उपलब्ध गराउनु पर्छ ।” उहाँले ट्राफिक प्रहरी र महानगर प्रहरीबिच निकट समन्वय गरी दीर्घकालीन समाधान खोज्न जोड दिँदै महानगरपालिकाले आवश्यक सहयोग उपलब्ध गराउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

सो अवसरमा ट्राफिक प्रहरी प्रमुख एसएसपी सुरेशप्रसाद काफ्लेले सवारी चालकहरूको मनोविज्ञान र अनुशासनको अवस्थाबारे चिन्ता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “सडकमा डोरी वा कोन जस्ता भौतिक अवरोध राख्दा मात्र नियम पालना गर्ने र अन्यत्र लापरबाही गर्ने प्रवृत्ति चालकहरूमा देखिन्छ। यस किसिमको मनोविज्ञानमा सुधार ल्याउन आवश्यक छ ।”

चालकहरूको लापरबाहीको उदाहरण दिँदै एसएसपी काफ्लेले पछिल्लो चार दिनमा मात्रै १६ जना विद्यालय बसका चालकहरूले बिहानै मादक पदार्थ सेवन (मापसे) गरेको भेटिएको जानकारी दिनुभयो। उहाँले सडक सुरक्षाका लागि महानगरपालिकासँग मिलेर सुधारका कामहरू अघि बढाउने बताउनुभयो ।

छलफल सडकमा प्रविधियुक्त सीसीटिभी क्यामरा जडान गर्ने र त्यसलाई निगरानी कक्षसँग जोड्ने, सडक तथा अन्य भौतिक संरचना निर्माण गर्दा राखिने निर्माण सामग्रीको कडाइका साथ नियमन गर्ने, फोहर संकलन गर्दा हुने सवारी चापलाई न्यूनीकरण गर्न समय तालिका र व्यवस्थापनमा सुधार गर्ने, वर्षायाममा सडकमा हुने डुबान र त्यसले ट्राफिकमा पार्ने प्रभाव कम गर्ने, पार्किङको वैज्ञानिक र प्रविधिमैत्री व्यवस्थापन गर्ने विषयमा केन्द्रीत थियो ।

काठमाडौँको सहरी व्यवस्थापनमा ट्राफिक व्यवस्थापनलाई बहुपक्षीय चुनौतीका रूपमा लिँदै, यसको सुधारबाट नागरिकले सुशासनको प्रत्यक्ष महसुस गर्न सक्ने निष्कर्ष छलफलले निकालेको छ ।

उक्त छलफलमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, प्रहरी उपरीक्षक नरेशराज सुवेदी लगायत अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।