प्रधानमन्त्रीको अभिव्यक्तिप्रति राष्ट्रिय सभामा सांसदहरूको आपत्ति : स्पष्टीकरण र रेकर्डबाट हटाउन माग
काठमाडौँ, जेठ २८ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाहले गत जेठ १७ गते प्रतिनिधिसभामा दिनुभएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै सरकारको ध्यानाकर्षण गराएका छन् । सीमा समस्या र परराष्ट्र नीतिसँग जोडिएको विषयमा प्रधानमन्त्रीको भनाइ अस्पष्ट र विवादास्पद भएको भन्दै विभिन्न दलका सांसदहरूले यसबारे सरकारले सदनलाई स्पष्ट पार्नुपर्ने माग राखेका हुन् ।
नेपाली कांग्रेस : सांसद कमलादेवी पन्तले सीमाजस्तो संवेदनशील विषयमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो। उहाँले राष्ट्रियसभा जस्तो गरिमामय सदनलाई अनिर्णयको बन्दी बनाउन नहुने भन्दै प्रधानमन्त्रीको अभिव्यक्तिबारे आधिकारिक धारणा सार्वजनिक गर्न माग गर्नुभयो।
नेकपा (माओवादी केन्द्र/नेकपा) : सांसद झक्कुप्रसाद सुवेदीले प्रधानमन्त्रीको अभिव्यक्तिले मुलुकमा वैदेशिक हस्तक्षेप निम्त्याउन सक्ने खतरा औंल्याउनुभयो। उहाँले राष्ट्रिय हित विपरितका यस्ता अभिव्यक्तिबारे तत्काल स्पष्टीकरण आवश्यक रहेको बताउनुभयो।
नेकपा (एमाले) : सांसद प्रेमप्रसाद दङ्गालले प्रधानमन्त्रीको भनाइले नेपालको स्थापित परराष्ट्र नीतिमा प्रतिकूल असर पार्ने दाबी गर्नुभयो। सिमानाको विषय राष्ट्रियतासँग अभिन्न रूपले जोडिएकाले यसमा कुनै सम्झौता हुन नसक्ने उहाँको तर्क थियो।
जनता समाजवादी पार्टी (जसपा) नेपाल : सांसद महन्थ ठाकुरले राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षाका लागि राज्यका प्रमुखहरूले जिम्मेवार भएर बोल्नुपर्ने बताउनुभयो। प्रधानमन्त्रीले बोलेका कुराले कानुनी र कूटनीतिक महत्त्व राख्ने हुँदा गम्भीरता अपनाउन उहाँले आग्रह गर्नुभयो ।
राष्ट्रिय जनमोर्चा : सांसद तुलप्रसाद विश्वकर्माले लामो समयदेखि संसद्मा जारी अवरोध परराष्ट्रमन्त्रीको जवाफपछि केही हदसम्म हटे पनि प्रधानमन्त्रीको विवादित अभिव्यक्ति अझै समाधान नभएको उल्लेख गर्नुभयो। उहाँले उक्त अभिव्यक्तिलाई संसद्को अभिलेख (रेकर्ड) बाटै हटाउन माग गर्नुभयो ।
आजको बैठकमा विशेष समय र शून्य समयमा बोल्ने सांसदहरूले राष्ट्रियतासँग जोडिएका संवेदनशील विषयमा सरकारले अविचलित भएर स्पष्ट अडान राख्नुपर्नेमा जोड दिएका छन् ।