देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौँ, जेठ ३१ । देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार ललितपुर, दाङ र सल्यानमा भएका दुर्घटनामा उनीहरूको ज्यान गएको हो ।
ललितपुर महानगरपालिका १३, थसिखेल चोकमा आज बिहान ट्रकले स्कुटरलाई ठक्कर दिँदा भक्तपुर लोकन्थलीकी २३ वर्षीया सोनु गडालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते हुनुभएकी गडालको पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको हो । प्रहरीले ठक्कर दिने ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ ।
यसैगरी, दाङको राप्ती गाउँपालिकामा ट्रकको ठक्करबाट पैदलयात्री ६५ वर्षीया चुरिया चौधरीको मृत्यु भएको छ । ट्रकको ठक्करबाट गम्भीर घाइते हुनुभएकी चौधरीको भालुबाङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा संलग्न ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
त्यस्तै, सल्यानको शारदा नगरपालिका १, श्रीनगरमा बसको ठक्करबाट पैदलयात्री ४६ वर्षीया उमा रेउलेको मृत्यु भएको छ । दाङबाट सल्यानतर्फ जाँदै गरेको बसले ठक्कर दिँदा गम्भीर घाइते हुनुभएकी छत्रेश्वरी गाउँपालिका ७ निवासी रेउलेको जिल्ला अस्पताल सल्यानमा उपचारका क्रममा निधन भएको हो ।
प्रहरीले सबै दुर्घटनाका चालकहरूलाई नियन्त्रणमा लिएको छ भने घटनाबारे आवश्यक कानुनी प्रक्रिया र थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।