बागमती प्रदेशको आर्थिक सर्वेक्षण सार्वजनिक : ८०० किलोमिटर सडक निर्माण, आगामी बजेटमा कृषि र विपन्न लक्षित कार्यक्रम आउने
काठमाडाैं, ३१ जेठ । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रदेशसभामा पेस गरेको छ । बिहीबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै प्रदेशको समग्र आर्थिक र भौतिक प्रगतिको विवरण सार्वजनिक गरेका हुन् ।
आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै मन्त्री तामाङले प्रदेशको राजस्व असुलीमा उल्लेख्य सुधार भएको जानकारी दिए । उनले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा प्रत्येक नागरिकको आर्थिक समृद्धि सुनिश्चित गर्ने खालका लक्षित कार्यक्रमहरू ल्याइने प्रतिबद्धता समेत व्यक्त गरे ।
आर्थिक सर्वेक्षणका अनुसार बागमती प्रदेशका विभिन्न जिल्लामा चालु आवमा थप ८०० किलोमिटर नयाँ सडक निर्माण सम्पन्न भएको छ । “हामीले सडक सञ्जाल विस्तारसँगै ढल व्यवस्थापन, सडकको स्तरोन्नति र कालोपत्रे गर्ने कार्यलाई प्राथमिकता दिएका छौँ,” मन्त्री तामाङले भने । उनले खानेपानी, सिँचाइ र ग्रामीण विद्युतीकरणका योजनाहरूलाई पनि कार्यान्वयनको गति दिइएको बताए ।
आगामी वर्षको बजेटले कृषि उत्पादन वृद्धिलाई मुख्य प्राथमिकतामा राख्ने सर्वेक्षणमा उल्लेख छ । विशेषगरी विपन्न समुदायका चेपाङ, तामाङ, जनजाति, दलित, आदिवासी, खस र आर्य समुदायलाई केन्द्रमा राखेर उत्पादनमुखी र स्वरोजगारमूलक कार्यक्रमहरू ल्याइने मन्त्री तामाङले जानकारी दिए ।
आजको बैठकमा प्रदेशसभाअन्तर्गतका पाँच वटा संसदीय समितिका सभापतिहरूले आ–आफ्नो समितिको सातौँ प्रतिवेदन पेस गरेका छन् । यसैगरी, विशेषाधिकार समितिकी सभापति मायादेवी शर्माले समितिको तेस्रो प्रतिवेदन छुट्टै पेस गरेकी थिइन् ।
प्रदेशसभाको अर्को बैठक आगामी असार १ गते अपराह्न ४:०० बजे बस्ने गरी उपसभामुख अप्सरा चापागाईंले आजको बैठक स्थगित गरेकी छिन् । असार १ गते नै बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि पूर्ण बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।