विश्व शान्तिको सन्देश बोकेर ‘अलोका’ कुकुरसहित भियतनामी भिक्षु लुम्बिनीमा, आज राष्ट्रपतिलाई भेट्ने

लुम्बिनी, १ असार । विश्व शान्ति, करुणा र मैत्रीको सन्देश फैलाउन ‘वाक फर पिस’ (शान्ति पदयात्रा) अभियान सञ्चालन गरिरहेको भियतनामी भिक्षु पन्याकर नेतृत्वको टोली बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेको छ । १८ जना भिक्षु तथा उपासक-उपासिका सम्मिलित यस टोलीको मुख्य आकर्षणका रूपमा ‘अलोका’ नामक कुकुर पनि साथै रहेको छ ।

आइतबार लुम्बिनी आइपुगेको यो टोलीले लुम्बिनीस्थित अखण्ड शान्ति दीपदेखि मायादेवी मन्दिरसम्म पदयात्रा गरी विशेष पूजा र प्रार्थना गरेको थियो । उक्त टोलीलाई लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक नगरप्रमुख कल्पना हरिजन र लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले भव्य स्वागत गर्नुभयो ।

पदयात्रामा सहभागी ‘अलोका’ कुकुरको कथा निकै रोचक र प्रेरणादायी छ । सन् २०२२ मा भिक्षु पन्याकर भारतमा पदयात्रा गरिरहँदा यस कुकुरले उहाँलाई पछ्याएको थियो । पछि सन् २०२५ मा अमेरिकाको टेक्सासबाट शान्ति यात्रा सुरु गर्ने निर्णय भएपछि सो कुकुरलाई भारतको कोलकाताबाट अमेरिका पुर्‍याइएको थियो ।

भिक्षु पन्याकरका अनुसार अमेरिका पुर्‍याएर यसको नाम ‘अलोका’ राखिएको हो । “अलोका अहिले शान्तिको दूत (एम्बेसेडर) बनेको छ,” भिक्षु पन्याकरले भन्नुभयो, “यो शील र नैतिकताको प्रतीकका रूपमा हामीसँगै हिँडिरहेको छ ।”

मायादेवी मन्दिरमा प्रार्थना गरेपछि आयोजित कार्यक्रममा भिक्षु पन्याकरले शान्ति कुनै बाह्य वस्तु नभई व्यक्तिबाटै सुरु हुने बताउनुभयो । उहाँले भगवान् बुद्धले देखाएको निर्वाण र परम आनन्दको बाटोलाई आत्मसात् गर्न दृढ सङ्कल्प आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रो यो सानो यात्राले विश्वभर सम्मान पाएको छ, यसले विश्वमा शान्तिको सन्देश दिन सफलता मिलेको हामीले महसुस गरेका छौँ ।”

कार्यवाहक नगरप्रमुख कल्पना हरिजनले बुद्ध भूमिबाट मानवता र करुणाको सन्देश प्रवाहित हुने भन्दै यो पदयात्राले वैश्विक एकताको भावनालाई थप ऊर्जा दिएको बताउनुभयो । कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले अलोका कुकुरसहितको यो आगमनले लुम्बिनीको ‘शान्ति पर्यटन’मा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्नुभयो ।

लुम्बिनीको भ्रमण र प्रार्थना सकेर यो टोली सोमबार (आज) बिहानै हवाई उडानमार्फत काठमाडौँ प्रस्थान गरेको छ । काठमाडौँमा टोलीले बौद्धनाथ, स्वयम्भू, चारुमती र आनन्दकुटी विहारको अवलोकन गर्ने कार्यक्रम छ ।

भिक्षु महासङ्घका पूर्वअध्यक्ष भिक्षु मैत्री महास्थवीरका अनुसार पदयात्रा टोलीले आजै साँझ ५:०० बजे शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गर्ने कार्यतालिका रहेको छ ।