नेप्से परिसूचकमा १२.२६ अङ्कको गिरावट, कारोबार रकम ४ अर्ब ४१ करोड नाघ्यो

काठमाडौँ, १ असार । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक आज सोमबार ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज परिसूचक १२.२६ अङ्कले घटेर २ हजार ७११.७६ विन्दुमा सीमित भएको हो।

ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि यस दिन ०.९६ अङ्कले घटेर ४६६.१३ विन्दुमा ओरालो लागेको छ। नेप्सेका अनुसार आज कारोबार भएका कुल ३५० कम्पनीका १ करोड ७ लाख ३९ हजार ९९८ कित्ता सेयर ५८ हजारभन्दा बढी पटकको कारोबारमा ४ अर्ब ४१ करोड २० लाख ४८ हजार ६०९ रुपैयाँ मूल्यमा खरिदबिक्री भएका छन्।

कारोबार भएका कम्पनीहरूमध्ये ७३ कम्पनीको सेयर मूल्य बढेको छ भने १८८ कम्पनीको मूल्य घटेको छ। बाँकी १२ कम्पनीको सेयर मूल्य भने यथावत् रहेको नेप्सेले जनाएको छ।

आजको सेयर बजारमा कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ। यसैगरी, सर्वाधिक सेयर कारोबार हुने शीर्ष पाँच कम्पनीहरूमा क्रमशः एनबिबिएल डिबेञ्चर, लक्ष्मी सनराइज बैंक, एसवाई प्यानल नेपाल र रिलायन्स स्पिनिङ मिल्स रहेका छन्।

नेप्सेका अनुसार आज सोपान फर्मास्युटिकल्स, अपोलो हाइड्रोपावर, सयपत्री हाइड्रोपावर, एसवाई प्यानल नेपाल र डोल्टी पावर कम्पनीका लगानीकर्ताहरूले सबैभन्दा बढी आर्जन गरेका छन्। अर्कातर्फ, ग्रीन डेभलपमेन्ट बैंक, रावा इनर्जी डेभलपमेन्ट, सेन्ट्रल फाइनान्स, नेपाल पुनरबीमा कम्पनी र नेपाल फाइनान्सका सेयरधनीहरूले भने गुमाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *