विश्वकप र भू–राजनीतिक दबाब: खेल र राजनीतिको चेपुवामा इरानको फुटबल टोली

एजेन्सी, १ असार । अमेरिका र इरानबीचको राजनीतिक तनाव, प्रवेशाज्ञा (भिसा) विवाद र सरकारविरोधी प्रदर्शनको छायाँका बीच इरानको राष्ट्रिय फुटबल टोलीले विश्वकपको तयारी गरिरहेको छ। लस एन्जलसमा सोमबार हुने न्युजिल्यान्डविरुद्धको पहिलो खेलअघि कूटनीतिक र मानसिक दबाब उत्पन्न भए पनि आफ्नो टोली कुनै बाहिरी प्रचारमा नअल्मलिई पूर्ण रूपमा खेलमा केन्द्रित रहने प्रशिक्षक अमिर घालेनोईले बताउनुभएको छ।

पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक घालेनोईले फुटबललाई राजनीतिबाट अलग राख्नुपर्नेमा जोड दिनुभयो। “हामी यहाँ राजनीति गर्न होइन, केवल राम्रो फुटबल खेल्न र उच्च स्तरको प्रदर्शन दिन आएका हौँ,” उहाँले भन्नुभयो, “हामी कुनै पनि राजनीतिक विषय वा बाहिरी प्रचारमा ध्यान दिँदैनौँ।”

अमेरिका र इरानबीच जारी सैन्य द्वन्द्वका कारण केही इरानी प्राविधिक सहयोगीहरूलाई अमेरिकी भिसा नदिइएपछि इरानले आफ्नो प्रशिक्षण शिविर संयुक्त राज्य अमेरिकाबाट मेक्सिकोको टिजुआनामा सार्नुपरेको थियो। बारम्बार स्थान परिवर्तन हुँदा तयारीमा केही असर पुर्‍याएको प्रशिक्षक घालेनोईले स्वीकार गर्नुभयो।

लस एन्जलस नजिकैको कार्सन क्षेत्रमा रहेको प्रशिक्षण मैदान बाहिर करिब २५ जना इरानी डायस्पोराका प्रदर्शनकारीहरूले वर्तमान इरानी शासनको विरोध गर्दै प्रदर्शन गरेका छन्। प्रदर्शनकारी सतगिन जलाली र सोरात दाराबीले इरानभित्र इन्टरनेट बन्द गरेर अभिव्यक्ति स्वतन्त्रतामा दमन भइरहेकाले आफूहरू विदेशमा रहेका इरानी जनताको आवाज बन्न खोजेको बताउनुभयो।

उनीहरूले यो टोलीले वास्तविक इरानी जनताको प्रतिनिधित्व नगरेको दाबी गर्दै रङ्गशालाभित्र थप प्रदर्शन गर्ने चेतावनी दिएका छन्। खेल मैदानभित्र सरकारविरोधी ब्यानर देखिएमा इरानी टोलीले मैदान छाड्न सक्नेसम्मको चेतावनी दिइएको छ।

इरानी प्रशिक्षकको पत्रकार सम्मेलन अमेरिका र इरानबीच द्वन्द्व अन्त्यका लागि ऐतिहासिक शान्ति सम्झौता घोषणा भएको केही समयपछि भएको हो। सो सम्झौताले युद्धविराम र रणनीतिक महत्त्वको हर्मुज जलसन्धि खुलाउने विषयलाई प्राथमिकता दिए पनि खेल वातावरणमा राजनीतिक संवेदनशीलता अझै कायमै छ।

यसअघि इरानी टोलीका स्टार स्ट्राइकर मेहदी तारेमीले खेलकुद र उत्सवको माध्यम मानिने विश्वकपमा यस किसिमको तनाव सिर्जना हुनु खेलाडीहरूको मनोबलका दृष्टिले दुःखद् भएको बताउनुभएको थियो।

इरान अहिलेसम्म विश्वकपको नकआउट चरणमा पुग्न सकेको छैन। यसपटक समूह ‘जी’ मा रहेको इरानले न्युजिल्यान्डका अतिरिक्त बेल्जियम र इजिप्ट जस्ता बलिया टोलीसँग प्रतिस्पर्धा गर्नेछ।