स्पेनको विश्वकपसँगै व्यक्तिगत अवार्डमा पनि कब्जा, एम्बाप्पेले जिते गोल्डेन बुट
काठमाडौं, ४ साउन ।। फिफा विश्वकप २०२६ को उपाधि जितेको स्पेनले प्रतियोगिताका व्यक्तिगत अवार्डहरूमा पनि आफ्नो वर्चस्व कायम गरेको छ। फाइनलमा अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै १६ वर्षपछि विश्वच्याम्पियन बनेको स्पेनका तीन खेलाडीले प्रमुख व्यक्तिगत पुरस्कार हात पारेका हुन्।
स्पेनका अनुभवी मिडफिल्डर रोड्री प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित हुँदै गोल्डेन बल जित्न सफल भए। प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै स्पेनको मध्यपङ्क्तिलाई नेतृत्व गरेका रोड्रीले फाइनलमा पनि प्रभावशाली खेल प्रदर्शन गरेका थिए।
यता, गोल्डेन बुट भने फ्रान्सका कप्तान किलियन एम्बाप्पे ले जिते। प्रतियोगिताभर १० गोल गर्दै उनी सर्वाधिक गोलकर्ता बनेका हुन्। यससँगै एम्बाप्पेले लगातार दोस्रो पटक विश्वकपको गोल्डेन बुट जित्ने कीर्तिमान पनि बनाए।
स्पेनकै उनाइ सिमोन उत्कृष्ट गोलरक्षक घोषित हुँदै गोल्डेन ग्लोभ का हकदार बने। उनले प्रतियोगिताभर उत्कृष्ट बचाउ गर्दै स्पेनको बलियो रक्षापङ्क्तिलाई सफलतापूर्वक नेतृत्व गरेका थिए।
यस्तै, स्पेनका युवा डिफेन्डर पाउ कुबार्सी ले सर्वोत्कृष्ट युवा खेलाडी (बेस्ट यङ प्लेयर) को अवार्ड जिते। प्रतियोगिताभर परिपक्व प्रदर्शन गरेका उनले विश्व फुटबलका उदाउँदा प्रतिभामध्ये एकका रूपमा आफूलाई स्थापित गरे।
यसैगरी, फेयर प्ले अवार्ड नेदरल्यान्ड्सले जितेको छ। अनुशासित खेल प्रदर्शनका आधारमा नेदरल्यान्ड्स यो सम्मानको हकदार बनेको फिफाले जनाएको छ।
स्पेनले विश्वकपको उपाधिसँगै तीन प्रमुख व्यक्तिगत अवार्ड जित्दै प्रतियोगितामा आफ्नो पूर्ण वर्चस्व स्थापित गरेको छ भने फ्रान्सका एम्बाप्पेले सर्वाधिक गोलकर्ताको सम्मान जितेर अर्को ऐतिहासिक उपलब्धि आफ्नो नाममा लेखाएका छन्।