राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन स्थल परिवर्तन : अब भरतपुरमा हुने
काठमाडौँ, असार २ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी पहिलो राष्ट्रिय महाधिवेशनको स्थल परिवर्तन गरी चितवनको भरतपुरमा तय गरिएको छ । यसअघि रत्ननगरस्थित होटल स्टारमा गर्ने तयारी गरिएको भए तापनि प्रतिकूल मौसम र सहभागीको सम्भावित चापलाई मध्यनजर गर्दै महाधिवेशन भरतपुरमा सारिएको हो ।
यही असार ७ देखि ९ गतेसम्म सञ्चालन हुने महाधिवेशनको उद्घाटन समारोह भरतपुरस्थित गेष्टहाउस चौरमा आयोजना गरिनेछ । रास्वपाका केन्द्रीय सदस्य एवं आवास तथा भोजन व्यवस्थापन समितिका संयोजक राजन गौतमका अनुसार महाधिवेशनको बन्द सत्र भने चितवन उद्योग सङ्घको औद्योगिक प्रदर्शनी केन्द्रमा सञ्चालन गर्ने तयारी गरिएको छ ।
पार्टी सभापतिको निर्देशन र स्थानीय कमिटीको सुझावअनुसार स्थान परिवर्तन गरिएको जानकारी दिँदै संयोजक गौतमले भन्नुभयो, “अत्यधिक गर्मी र वर्षाको सम्भावनाका कारण खुल्ला टेन्टमा बन्द सत्र सञ्चालन गर्न कठिनाइ हुने देखिएकाले सुविधासम्पन्न प्रदर्शनी केन्द्र रोजिएको हो ।” उद्घाटन समारोहमा ५० हजारभन्दा बढी जनसहभागिता रहने अनुमान गरिएको छ भने सवारी पार्किङको व्यवस्था केन्द्रीय बस टर्मिनल क्षेत्रमा मिलाइएको छ ।
रास्वपा चितवनका सभापति मिनिमाधव खनालले महाधिवेशन तयारीका लागि जिल्ला र नगर कमिटी, केन्द्रीय सदस्य तथा जनप्रतिनिधिहरूबीच समन्वय भइरहेको बताउनुभयो। महाधिवेशन सम्पन्न गर्न गठित १८ वटा विभिन्न उपसमितिहरूले आफ्नो कार्यलाई तीव्र पारेका छन् ।
उद्घाटन समारोहमा नेपालका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूका साथै छिमेकी मुलुकका प्रतिनिधिहरूलाई समेत आमन्त्रण गरिएको पार्टीले जनाएको छ। महाधिवेशनको बन्द सत्रमा देशभरबाट करिब तीन हजार प्रतिनिधिहरू सहभागी हुने कार्यतालिका रहेको छ ।