चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंबाट सकुशल उद्धार, ५ भारतीय नागरिक पक्राउ

काठमाडौँ, २ असार । चितवनबाट अपहरणमा परेका एक बालकको काठमाडौँबाट सकुशल उद्धार गरिएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले विशेष अपरेसनमार्फत ती बालकलाई अपहरण मुक्त गराएको हो ।

अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका पाँचै जना भारतीय नागरिक रहेको प्रहरीले पुष्टि गरेको छ ।

प्रहरीका अनुसार बालकलाई चितवनबाट अपहरण गरी काठमाडौँ ल्याएर लुकाइएको थियो । बालक अपहरणमा परेको सूचना प्राप्त भएलगत्तै अपराध अनुसन्धान कार्यालयले सूक्ष्म निगरानी र प्राविधिक विश्लेषण सुरु गरेको थियो । सोही क्रममा काठमाडौँको एक स्थानबाट बालकलाई सुरक्षित फेला पारिएको र संलग्नहरूलाई समातिएको हो ।

अपहरणकारीहरूले कुन उद्देश्यले र कसरी बालकलाई चितवनबाट उठाएका थिए भन्नेबारे प्रहरीले गम्भीर अनुसन्धान सुरु गरेको छ । पक्राउ परेका भारतीय नागरिकहरूको पहिचान र उनीहरूको आपराधिक पृष्ठभूमिबारे पनि खोजी भइरहेको छ ।

अपराध अनुसन्धान कार्यालयले घटनाको विस्तृत विवरण र पक्राउ परेका व्यक्तिहरूको नाम केही समयपछि पत्रकार सम्मेलन वा प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गर्ने तयारी गरेको छ । उद्धार गरिएका बालकको स्वास्थ्य अवस्था सामान्य रहेको र उनलाई परिवारको जिम्मा लगाउने प्रक्रिया सुरु गरिएको प्रहरीले जनाएको छ ।