विश्वकप खेल सकिए लगत्तै इरानी टोलीलाई अमेरिका छाड्न आदेश, मेक्सिको फर्किन बाध्य

एजेन्सी, ३ असार । विश्वकप फुटबल २०२६ मा सहभागी इरानको राष्ट्रिय टोलीले खेल समाप्त हुने बित्तिकै केही घण्टाभित्रै संयुक्त राज्य अमेरिका छाड्नुपर्ने भएको छ। लस एन्जलस र सियाटलमा हुने समूह चरणका खेलहरू लगत्तै इरानी टोलीले अमेरिका छाडेर मेक्सिको फर्किनुपर्ने कडा नियम अमेरिकी सुरक्षा अधिकारीहरूले लागू गरेका हुन्।

अमेरिकी राष्ट्रपतिको कार्यालय अन्तर्गत रहेको फिफा टास्क फोर्सका कार्यकारी निर्देशक एन्ड्र्यु जिउलियानीले सुरक्षा संवेदनशीलताका कारण यो व्यवस्था पहिले नै स्पष्ट पारिएको भन्दै निर्णयको बचाउ गर्नुभएको छ।

यसै नियम अन्तर्गत सोमबार लस एन्जलसमा न्युजिल्यान्डसँगको समूह ‘जी’ को खेल (बराबरी) सकिए लगत्तै इरानी टोली स्थानीय समय अनुसार राति ८ बजे नै अमेरिका छाडेर मेक्सिकोस्थित आफ्नो बेस क्याम्प फर्किएको छ।

इरानका मुख्य प्रशिक्षक अमिर घालेनोईले खेलपछि सामान्य शारीरिक रिकभरीका लागि समेत होटलमा बस्न नदिई केही घण्टाभित्रै मेक्सिको फर्किन बाध्य पारिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ।

इरानी खेलाडी मेहदी तोराबीको प्रवेशाज्ञा (भिसा) को अवधि पहिलो खेल लगत्तै समाप्त भए पनि अमेरिकी विदेश मन्त्रालयले पछि उनलाई बहु-प्रवेश (ल्टिपल एन्ट्री) भिसा उपलब्ध गराएर प्राविधिक समस्या समाधान गरेको जनाएको छ।

यद्यपि, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) सँग आबद्ध रहेको आशंकामा टोलीका केही सहयोगी प्राविधिक सदस्य र अधिकारीहरूलाई भने सुरक्षाको कारण देखाउँदै अमेरिका प्रवेशमा अझै रोक लगाइएको छ।

इरानका स्टार स्ट्राइकर एवं कप्तान मेहदी तारेमीले खेल सम्पन्न भए लगत्तै लामो यात्रा र झन्झटिलो सुरक्षा जाँचका कारण खेलाडीहरू शारीरिक रूपमा निकै थकित भएको गुनासो गर्नुभएको छ।

“हामीले सामान्यतया छोटो समय लाग्ने यात्रा र सुरक्षा चेकजाँच प्रक्रियामा मात्र पाँच घण्टा बिताउनुपर्‍यो, जसले गर्दा खेलाडीहरूले खेलपछि पाउनुपर्ने पर्याप्त आराम पाउन सकेनन्,” तारेमीले भन्नुभयो। उहाँले यस्तो संवेदनशील परिस्थितिमा फिफाले खेलाडीहरूको सुविधा र हितका लागि थप रचनात्मक कदम चाल्नुपर्ने मागसमेत गर्नुभयो।