बैंकिङ प्रणालीबाट ४५ अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक, आज बोलकबोल हुँदै
काठमाडौँ, ३ असार । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता (लगानीयोग्य रकम) व्यवस्थापनका लागि आज ४५ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गर्ने भएको छ ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले निक्षेप सङ्कलन उपकरणमार्फत उक्त रकम बराबरको बोलकबोल आह्वान गरेको हो ।
विभागले जारी गरेको सूचना अनुसार इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आजै दिउँसो ३:०० बजेसम्म अनलाइन विडिङ प्रणालीमार्फत बोलकबोलमा सहभागी हुन सक्नेछन् । यस उपकरणको ब्याजदर बोलकबोलको माध्यमबाटै तय गरिने राष्ट्र बैंकले जनाएको छ ।
बोलकबोलमा सहभागी हुने संस्थाहरूले घटीमा १० करोड रुपैयाँ र बढीमा कुल आह्वान रकम (४५ अर्ब) सम्मको सीमामा रही आवेदन दिन सक्नेछन् । आवेदन दिँदा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अङ्क हुनुपर्ने सर्त राखिएको छ ।
यस प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । पछिल्लो समय बैंकिङ प्रणालीमा अधिक तरलता रहेका कारण ब्याजदर सन्तुलनमा राख्न राष्ट्र बैंकले निरन्तर बजारबाट पैसा तानिरहेको छ ।