विश्व कृत्रिम बौद्धिकता (एआई) सम्मेलन २०२६ चीनमा आयोजना हुने
एजेन्सी, ३ असार । चीनको साङ्घाईमा सन् २०२६ को जुलाईमा ‘विश्व कृत्रिम बौद्धिकता (एआई) सम्मेलन’ तथा ‘ग्लोबल एआई गभर्नेन्स’ सम्बन्धी उच्च–स्तरीय बैठक आयोजना हुने भएको छ ।
चिनियाँ अधिकारीहरूले बुधबार यस विश्वव्यापी कार्यक्रमको तयारी भइरहेको जानकारी दिएका हुन् । चीनको राष्ट्रिय विकास र सुधार आयोगका उप–प्रमुख झोउ हाइबिङले पत्रकार सम्मेलनमा बोल्दै चीनले यस सम्मेलनलाई एआई क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोग सुदृढ बनाउने महत्त्वपूर्ण अवसरका रूपमा लिएको बताउनुभयो ।
उप–प्रमुख झोउले एआई प्रविधिले मानव जातिको भविष्यमा ठूलो प्रभाव पार्ने उल्लेख गर्दै यो कुनै एक देशको मात्र नभएर विश्वकै साझा सवाल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “चीनले बहुपक्षवाद, खुलापन र समावेशीकरणको सिद्धान्तलाई समर्थन गर्दै एआईको युगमा विश्वव्यापी विकासका लागि आधुनिक चिनियाँ समाधानहरूसहित उल्लेख्य योगदान पुर्याउन चाहन्छ ।”
चीनले एआईको विकास र सुरक्षा प्रयासहरूबीच उचित समन्वय गर्ने नीति लिएको चिनियाँ पक्षले जनाएको छ । सम्मेलनका क्रममा ‘जन–केन्द्रित एआई’ विकासको सिद्धान्तलाई प्राथमिकता दिइने र यस प्रविधिको जिम्मेवार प्रयोगका लागि विश्वव्यापी बहस गरिने बताइएको छ ।