चिया निर्यातको अवरोध हटाउन कूटनीतिक पहलका लागि महासङ्घको माग

काठमाडौँ,  असार ३ । नेपाल उद्योग वाणिज्य महासङ्घले नेपाली चिया निर्यातमा छिमेकी मुलुक भारतबाट भइरहेको अवरोध हटाउन सरकारसँग उच्चस्तरीय कूटनीतिक पहलका लागि माग गरेको छ ।

भारतीय चिया बोर्डले गत मे १ देखि कार्यान्वयनमा ल्याएको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) र प्रत्येक खेपमा गर्नुपर्ने अनिवार्य परीक्षणको प्रावधान अव्यवहारिक भएको भन्दै महासङ्घले यसले नेपाली चियाको निर्यातमा गम्भीर असर पारेको जनाएको छ ।

महासङ्घद्वारा जारी विज्ञप्ति अनुसार, नेपालको कृषि, उद्योग, निर्यात र रोजगारीका दृष्टिले चिया क्षेत्र अत्यन्त महत्त्वपूर्ण र रणनीतिक महत्त्वको छ । नेपाल चिया उत्पादक सङ्घको पछिल्लो वस्तुस्थिति र मागलाई दृष्टिगत गर्दै तत्काल ठोस कूटनीतिक र नीतिगत कदम चाल्न सरकारको ध्यानाकर्षण गराइएको छ ।

नेपाली अर्थतन्त्र र ग्रामीण रोजगारीको बलियो स्तम्भ रहेको चिया क्षेत्रले वार्षिक १२ अर्बदेखि १४ अर्ब रुपैयाँ बराबरको कारोबार गर्दै आएको छ । साथै, वार्षिक ५ अर्ब रुपैयाँभन्दा बढीको चिया भारत निर्यात गरी मुलुकको व्यापार घाटा न्यूनीकरणमा समेत यस क्षेत्रले ठूलो योगदान पुर्‍याउँदै आएको महासङ्घले उल्लेख गरेको छ ।

“चिया उद्योगले प्रत्यक्ष रूपमा ६० हजारभन्दा बढी कर्मचारी तथा मजदुरलाई रोजगारी दिएको छ भने राज्यलाई वार्षिक करिब १ अर्ब रुपैयाँ राजस्व बुझाउँदै आएको छ,” महासङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यस्तो संवेदनशील र महत्त्वपूर्ण क्षेत्र भारतीय अवरोधका कारण संकटमा पर्दा समग्र अर्थतन्त्रमै नकारात्मक असर पर्ने देखिन्छ ।”

चिया क्षेत्रमा आश्रित हजारौँ किसान, मजदुर र उद्यमीहरूको भविष्यलाई ध्यानमा राख्दै यो समस्यालाई उच्च प्राथमिकतामा राखी कूटनीतिक तवरले तत्काल समाधान गर्न महासङ्घले सरकारसँग जोडदार माग गरेको छ ।