चुरे गाउँपालिकाद्वारा पशुपालक किसानलाई अनुदान वितरण : भैँसी र बाख्रापालनमा प्रोत्साहन
काठमाडौँ, असार ४ । कैलालीको चुरे गाउँपालिकाले पशुपालन व्यवसायलाई प्रवर्धन गर्ने र दुग्ध उत्पादनमा पालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले किसानहरूलाई नगद अनुदान वितरण गरेको छ । गाउँपालिकाले व्यावसायिक रूपमा भैँसी र बाख्रापालन गरिरहेका किसानहरूलाई प्रोत्साहनस्वरुप अनुदान प्रदान गरेको हो ।
गाउँपालिकाका पशु शाखा प्रमुख धर्मराज भट्टका अनुसार चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत छवटै वडाका १० जना व्यावसायिक किसानलाई प्रतिभैँसी ५० हजार रुपियाँका दरले अनुदान उपलब्ध गराइएको छ । “किसानलाई व्यावसायिक बनाउन र स्थानीयस्तरमै दुग्धजन्य पदार्थको उत्पादन बढाउन यो कार्यक्रम ल्याइएको हो,” शाखा प्रमुख भट्टले बताउनुभयो।
गाउँपालिकाले चालु आर्थिक वर्षमा भैँसी प्रवर्धनका लागि ५ लाख र बाख्रापालनका लागि ४ लाख रुपियाँ बजेट विनियोजन गरेको थियो। अनुदान प्राप्तिका लागि कार्यविधिसमेत तय गरिएको छ । जसअनुसार भैँसी प्रवर्धनका लागि व्यावसायिक फर्मको हकमा कम्तीमा दुईवटा माउ भैँसी र समूहको हकमा ३० वटा हुनुपर्ने प्रावधान छ । त्यस्तै, बाख्रापालनतर्फ फर्मको हकमा कम्तीमा ३० वटा र समूहको हकमा २०० वटा माउ बाख्रा हुनुपर्ने मापदण्ड राखिएको छ।
यसैगरी, चुरे गाउँपालिका ६ ले वडाभित्रका १० जना एकल महिलालाई आयआर्जनमा टेवा पुऱ्याउने उद्देश्यले बाख्रा वितरण गरेको छ । विपन्न तथा असहाय महिलाहरूको आर्थिक अवस्था सुदृढ तुल्याउन १ लाख रुपियाँको बजेटबाट बाख्रा सहयोग गरिएको वडाध्यक्ष प्रेमबहादुर साउदले जानकारी दिनुभयो ।
गाउँपालिकाको यस कदमबाट स्थानीय स्तरमा पशुपालनतर्फ आकर्षण बढ्ने र स्वरोजगारका अवसरहरू सिर्जना हुने अपेक्षा गरिएको छ ।