बीवाइडी गाडी आयातमा कर छली भएको भन्दै एमालेद्वारा संसदीय छानबिनको माग, प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिप्रति आपत्ति
काठमाडौँ, ४ असार । प्रतिपक्षी दल नेकपा (एमाले) ले विद्युतीय सवारीसाधन आयातमा भएको कर छलीको विषयमा तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ। प्रतिनिधि सभाको बिहीबारको बैठकमा आकस्मिक समय लिएर बोल्दै एमाले सांसद लक्ष्मीप्रसाद पोखरेलले बजेट निर्माणको पूर्वसन्ध्यामा करका दरहरू हेरफेर गरी राज्यलाई नोक्सानी पुर्याउने ढंगले ईभी गाडी भित्र्याइएको भन्दै यसबारे सुक्ष्म अनुसन्धान हुनुपर्ने माग गर्नुभयो।
सांसद पोखरेलले नीतिगत भ्रष्टाचार गरी राज्यको राजस्वमा ठूलो नोक्सानी पुर्याउने काम भएको दाबी गर्नुभयो। “ईभी काण्डमा संसद्ले शक्तिशाली छानबिन समिति गठन गर्नैपर्छ, अन्यथा एमालेले यस विषयलाई अत्यन्त गम्भीरतापूर्वक लिएर दबाब सिर्जना गर्नेछ,” उहाँले चेतावनी दिनुभयो।
यसैगरी, सांसद पोखरेलले प्रधानमन्त्री बालेन शाहले नेपालले पनि भारतको सीमा मिचेको भनी संसद्मा दिएको अभिव्यक्तिप्रति कडा शब्दमा आपत्ति जनाउँदै यसलाई ‘राष्ट्रघाती’ को संज्ञा दिनुभयो। सुगौली सन्धि यताका सन् १८१६, १८१९, १८२१, १८२७ र १८५६ का ऐतिहासिक नक्साहरूले लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको ३७२ वर्ग किलोमिटर नेपाली भूमि स्पष्ट रूपमा नेपालकै प्रमाणित गरेको तथ्य उहाँले संसद्मा प्रस्तुत गर्नुभयो।
“यस्तो ऐतिहासिक तथ्य हुँदाहुँदै प्रधानमन्त्रीले ‘हामीले पनि भारतको सीमा मिचेका छौँ’ भन्नु ३ करोड नेपालीको राष्ट्रिय स्वाभिमानमाथिको अपमान र राष्ट्रघात हो, उहाँको यो अभिव्यक्ति तत्काल संसद्को रेकर्डबाट हटाइनुपर्छ,” उहाँले माग गर्नुभयो।