नेपालगन्ज यातायात कार्यालयमा २०० रुपैयाँमा ‘निरोगिताको प्रमाणपत्र’ बेच्ने २ डाक्टरसहित ५ जना पक्राउ

बाँके, ५ असार । नेपालगन्जस्थित यातायात व्यवस्था कार्यालयमा अवैध रूपमा मेडिकल रिपोर्ट वितरण गरेको आरोपमा प्रहरीले दुई जना चिकित्सकसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ। सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नयाँ लिन तथा नवीकरणका लागि आवश्यक पर्ने ‘निरोगिताको प्रमाणपत्र’ गैरकानुनी ढङ्गले बिक्री गरिरहेको अवस्थामा उनीहरूलाई बिहीबार पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतितसिंह राठौरका अनुसार, आधिकारिक व्यक्तिले विस्तृत स्वास्थ्य जाँच गरेर मात्र मेडिकल रिपोर्ट दिनुपर्ने कानुनी व्यवस्था छ। तर, पक्राउ परेकाहरूले प्रतिव्यक्ति २०० रुपैयाँ लिएर स्वास्थ्य परीक्षण नै नगरी धमाधम ‘फिटनेस सर्टिफिकेट’ बाँडिरहेको पाइएको छ।

यातायात कार्यालयमा बिचौलिया र चिकित्सकको मिलेमतोमा पैसा बुझाएकै भरमा मेडिकल रिपोर्ट पाइने सूचना पाएपछि जिल्ला प्रहरी कार्यालयले विशेष टोली परिचालन गरेको थियो। “हामीले गोप्य रूपमा निगरानी र अवलोकन गर्दा ठूलो कैफियत भेटियो,” डीएसपी राठौरले भने, “नियम उल्लङ्घन गरी प्रमाणपत्र वितरण भइरहेको फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिएका हौँ।”

प्रहरीले पक्राउ परेका दुई चिकित्सक र तीन जना बिचौलियाको पहिचान भने हाललाई सार्वजनिक गरेको छैन। अनुसन्धान प्रारम्भिक चरणमा रहेकाले नाम गोप्य राखिएको र उनीहरूमाथि थप सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।

सवारी चालकको आँखा, कान र शारीरिक अवस्थाको सही परीक्षण नगरी पैसाका भरमा प्रमाणपत्र दिँदा सडक दुर्घटनाको जोखिम बढ्ने भन्दै प्रहरीले यस कार्यमा संलग्नहरूलाई कडा कारबाही गर्ने बताएको छ।