अन्तिम समयमा सुधारिएर बन्द भयाे नेप्से , कारोबार रकम साढे ४ अर्ब नाघ्यो

काठमाडौँ, ५ असार । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक साताको अन्तिम कारोबार दिन शुक्रबार सामान्य अङ्कले बढेर बन्द भएको छ। कारोबार समयको अधिकांश अवधि ओरालो लागेको नेप्से बजार बन्द हुने अन्तिम समयमा सकारात्मक हुँदै १.६३ अङ्कले बढेर २,७०२.११ विन्दुमा बन्द भएको हो।

यस दिन ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स ०.३१ अङ्क, फ्लोट इण्डेक्स ०.११ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०९ अङ्कले बढेका छन्। बिहीबार ३ अर्ब ४१ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएकोमा शुक्रबार ३५३ कम्पनीका ६१ हजार १७० पटकको कारोबारमा ४ अर्ब ५३ करोड ४९ लाख ८३ हजार रुपैयाँ बराबरको १ करोड ९ लाख २२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

आजको कारोबारमा एपोलो हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सो कम्पनीको सेयर मूल्य ११९ रुपैयाँ ४० पैसाले बढेर प्रतिइकाइ ९१६ रुपैयाँमा अन्तिम कारोबार भएको छ। यस्तै, सोपान फर्मास्युटिकल्सको सेयर मूल्य १४ प्रतिशत र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ९ प्रतिशतले वृद्धि भएको छ।

कारोबार रकमका आधारमा यस दिन ग्लोबल आइएमई बैंक लिमिटेड डिबेञ्चर २०८६/८७ शीर्ष स्थानमा रहेको छ। यस दिन सो ऋणपत्रको ३३ करोड ११ लाख २२ हजार रुपैयाँ बराबरको कारोबार भयो। यस्तै, ग्लोबल आइएमई बैंक डिबेञ्चर २०८४/८५ को साढे ३२ करोड रुपैयाँभन्दा बढी र सोपान फर्मास्युटिकल्सको २० करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।

कारोबार भएका १३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। वित्त, जलविद्युत्, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो भने बाँकी ६ उपसमूहको सूचकमा सामान्य गिरावट आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *