कञ्चनपुरमा लागुऔषधसहित भीमदत्त नगरपालिकाकी वडासदस्य पक्राउ
कञ्चनपुर, ८ असार । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ की एक महिला वडासदस्य अवैध लागुऔषधसहित पक्राउ परेकी छिन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले वडा नं १८ की वडासदस्य रूपा जैरूलाई शनिबार ३० एम्पुल लागुऔषधसहित नियन्त्रणमा लिएको हो ।
भीमदत्त नगरपालिका–१८ कटानस्थित गौरा मन्दिर टोलमा अवैध लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो । सोही क्रममा शङ्कास्पद अवस्थामा फेला परेकी जैरूको शरीर खानतलासी गर्दा लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार उनको साथबाट कालो प्लास्टिकको पोकोमा लुकाइछिपाइ राखिएको अवस्थामा प्रोमेथाजिन हाइड्रोक्लोराइड १५ एम्पुल र बुप्रेनोर्फिन हाइड्रोक्लोराइड १५ एम्पुल गरी जम्मा ३० एम्पुल सुई (इन्जेक्सन) बरामद गरिएको छ ।
पक्राउ परेकी वडासदस्य जैरूमाथि लागुऔषध नियन्त्रण ऐनअनुसार थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।