नेप्से परिसूचकमा १.४६ अङ्कको सामान्य गिरावट, कारोबार रकम ४ अर्ब ४४ करोड

काठमाडौँ, ८ असार । सेयर बजारमा नेप्से परिसूचक साताको पहिलो कारोबार दिन सामान्य अङ्कले घटेर बन्द भएको छ। गत शुक्रबार सामान्य बढेको नेप्से यस दिन १.४६ अङ्कले घटेर २,७००.६५ विन्दुमा झरेको हाे । नेप्सेसँगै यस दिन कारोबार रकममा पनि सामान्य गिरावट आएको छ।

यस दिन ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स ०.१७ अङ्कले घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१० अङ्कले बढेको छ। गत शुक्रबार ४ अर्ब ५३ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएकोमा सोमबार ३५३ कम्पनीका ९० हजार ८६२ पटकको कारोबारमा ४ अर्ब ४४ करोड ६५ लाख २० हजार रुपैयाँ बराबरको ८१ लाख ३८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

सोमबारको सेयर बजारमा दुईवटा नयाँ कम्पनी टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिङ्ग हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यी दुवै कम्पनीको गत शुक्रबार नेप्सेमा सेयर सूचीकृत भई सोमबारदेखि मात्र दोस्रो बजारमा कारोबार सुरु भएको हो।

यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य करिब साढे ७ प्रतिशत र सोपान फर्मास्युटिकल्सको मूल्य साढे ५ प्रतिशतले बढेको छ। यस दिन मूल्य घट्ने कम्पनीहरूको गिरावट दर भने ४ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन सोपान फर्मास्युटिकल्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ३७ करोड ४४ लाख ५६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भयो। यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साढे ३० करोड रुपैयाँभन्दा बढी र १०.२५ प्रतिशत एनबिबिएल डिबेञ्चर २०८५ को करिब २९ करोड रुपैयाँ बराबरको ऋणपत्र किनबेच भएको छ।

कारोबार भएका १३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *