विष्णु पौडेलको गिरफ्तारी राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र हो : अध्यक्ष केपी ओली

काठमाडौँ, ८ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीलाई सरकारको ‘नाङ्गो प्रतिशोध’ र ‘शृङ्खलाबद्ध षड्यन्त्र’ को संज्ञा दिनुभएको छ। सोमबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष ओलीले सरकारले विपक्षी दललाई दबाउन अलोकतान्त्रिक र दमनकारी कदम चालेको भन्दै कडा आपत्ति जनाउनुभएको हो।

अध्यक्ष ओलीले वर्तमान सत्तापक्षले विपक्षी दलहरूमाथि राजनीतिक पूर्वाग्रह राखेर प्रहार गरिरहेको आरोप लगाउनुभएको छ। “यो दमनकारी कदम म र हाम्रो पार्टी नेकपा (एमाले) माथि लगातार भइरहेका शृङ्खलाबद्ध प्रहार र राजनीतिक षड्यन्त्रको निरन्तरता हो भन्ने कुरा स्पष्ट छ,” ओलीले विज्ञप्तिमा भन्नुभएको छ।

एमाले अध्यक्ष ओलीले पूर्वनिर्धारित कार्यतालिकाअनुसार सार्वजनिक कार्यक्रममै रहेका व्यक्तित्वलाई विधिको शासन र सामान्य कानुनी प्रक्रियासमेत लत्याएर पक्राउ गरिएको दाबी गर्नुभएको छ। सोधपुछका अन्य विकल्प हुँदाहुँदै सरकारले सस्तो लोकप्रियताका लागि यस्तो हर्कत गरेको उहाँको भनाइ छ।

विज्ञप्तिमा भनिएको छ, “जुनसुकै बेला सोधपुछ गर्न सकिने वा उहाँकै उपस्थितिमा प्रक्रिया अगाडि बढाउन सकिने विकल्पलाई नियतवश लत्याइएको छ। सार्वजनिक पद धारण गरिसकेका र कानुनलाई सदैव सम्मान गर्ने राजनीतिक व्यक्तित्वलाई केवल सस्तो ‘स्टन्ट’ र राजनीतिक खपतका लागि बदनियतपूर्वक गिरफ्तार गरिएको छ।”

अध्यक्ष ओलीले वर्तमान सरकार सर्वसत्तावाद र अधिनायकवादको बाटोतर्फ उन्मुख भएको भन्दै यस्ता गतिविधि तत्काल रोक्न चेतावनी दिनुभएको छ। विपक्षी दलका नेताहरूमाथि लक्षित यस्ता निकृष्ट हर्कत बन्द नभए त्यसको परिणाम सरकारका लागि महँगो सावित हुने उहाँको चेतावनी छ।

उपाध्यक्ष पौडेललाई सोमबार एमालेको आन्तरिक चुनावी समीक्षा एवम् संगठन पुनर्गठन कार्यक्रममा सहभागी भइरहेकै अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो। एमालेले यस गिरफ्तारीलाई राजनीतिक प्रतिशोध भन्दै सडक र सदन दुवै ठाउँबाट सशक्त प्रतिकार गर्ने जनाएकाे छ ।