पहिले अनुसन्धान गरेर आधार जुटेपछि मात्र पक्राउ गरियोस् : नेता प्रदीप ज्ञवाली
काठमाडौँ, ८ असार । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले राज्यका निकायहरूले अनुसन्धान र न्याय सम्पादनका क्रममा स्थापित कानुनी प्रक्रियाको पूर्ण पालना गर्नुपर्ने बताउनुभएको छ । पार्टीका उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीपछि आफ्नो धारणा सार्वजनिक गर्दै नेता ज्ञवालीले पहिले गहिरो अनुसन्धान सम्पन्न गरेर आवश्यक आधार जुटाएपछि मात्र पक्राउको प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिनुभएको हो ।
सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया दिँदै पूर्वमन्त्रीसमेत रहनुभएका ज्ञवालीले नेकपा (एमाले) सधैँ विधिको शासन र कानुनी प्रक्रियाको पक्षमा रहेको उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “संवैधानिक र कानुनी अधिकारप्राप्त निकायले गर्ने अनुसन्धानमा सहयोग गर्ने, आफूमाथि उठेका प्रश्नहरूको कानुनी रूपमा सामना गर्ने र अदालतको निर्णयलाई सहज रूपमा स्वीकार गर्ने एमालेको स्थापित मान्यता हो ।”
नेता ज्ञवालीले अनुसन्धानको स्थापित विधि मिचेर ‘पहिले पक्राउ गर्ने र त्यसपछि अनुसन्धान सुरु गर्ने’ प्रवृत्ति हाबी भएको भन्दै आलोचना गर्नुभएको छ । “पहिले निष्पक्ष र गहिरो अनुसन्धान हुने, त्यसपछि अभियोजन र अदालतको प्रक्रियाबाट अगाडि बढ्ने तथा अत्यावश्यक अवस्थामा मात्रै नियन्त्रणमा लिने अभ्यास हुनुपर्ने हो,” ज्ञवालीले भन्नुभएको छ, “तर व्यवहारमा भने पहिले गिरफ्तार गर्ने र बल्ल अनुसन्धान सुरु गर्ने शृङ्खला लामो समयदेखि चलिरहेको छ ।”
राज्यका निकायहरूले गर्ने कुनै पनि निर्णय पूर्वाग्रह, प्रतिशोध वा राजनीतिक आग्रहबाट प्रभावित हुन नहुने ज्ञवालीको भनाइ छ । उहाँले अनुसन्धान र न्याय निरूपणको प्रक्रियालाई निष्पक्ष र पारदर्शी बनाउन सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको छ ।