अमेरिकी भुक्तानी प्रणालीको एकाधिकार तोड्न युरोपेली सङ्घद्वारा ‘डिजिटल युरो’ को खाका तयार

एजेन्सी, ९ असार । युरोपेली सङ्घ (इयु) ले अमेरिकी भुक्तानी प्रणालीमाथिको परनिर्भरता घटाउँदै आफ्नो आर्थिक सार्वभौमिकता सुदृढ गर्ने रणनीतिक उद्देश्यका साथ ‘डिजिटल युरो’ परियोजनालाई तीव्रता दिएको छ। भिसा, मास्टरकार्ड, एप्पल पे र गुगल पे जस्ता अमेरिकी भुक्तानी सेवाहरूको बलियो विकल्प तयार पार्न युरोपेली संसद्‌मा मङ्गलबार यससम्बन्धी महत्वपूर्ण कानुनी प्रस्तावमा मतदान हुँदैछ।

युरोपसँग आफ्नै साझा डिजिटल भुक्तानी प्रणाली नभएका कारण युरोपेली केन्द्रीय बैंक (इसिबी) ले सन् २०२० मै डिजिटल युरोको अवधारणा अघि सारेको थियो। इयु संसद् र सदस्य राष्ट्रहरूले यस वर्षको अन्त्यसम्ममा कानुनी प्रक्रिया पूरा गरेमा इसिबीले सन् २०२७ को मध्यतिर यसको परीक्षण सुरु गर्नेछ र सन् २०२९ सम्ममा डिजिटल युरो सर्वसाधारणका लागि पूर्ण रूपमा उपलब्ध गराउने महत्त्वाकाङ्क्षी लक्ष्य राखेको छ।

यो प्रणाली बैंक खातामा रहने सामान्य रकमभन्दा फरक हुनेछ। प्रयोगकर्ताले बैंक वा हुलाक कार्यालयमा विशेष ‘डिजिटल वालेट’ खोली मोबाइल एप, कार्ड वा अनलाइन प्रणालीमार्फत प्रत्यक्ष सुरक्षित कारोबार गर्न सक्नेछन्। यसमा इन्टरनेटविना (अफलाइन) पनि नगद सरह सुरक्षित कारोबार गर्न सकिने व्यवस्था रहनेछ, जसले प्रयोगकर्ताको गोपनीयता सुरक्षित राख्ने दाबी गरिएको छ।

इसिबीका अनुसार हाल युरो क्षेत्रका झण्डै दुई तिहाइ कार्ड भुक्तानीहरू गैर–युरोपेली कम्पनीहरू (विशेष गरी भिसा र मास्टरकार्ड) मार्फत हुने गरेका छन्। साथै २१ मध्ये १३ युरोजोन देशमा दैनिक भुक्तानीका लागि आफ्नै राष्ट्रिय कार्ड प्रणाली छैन।

युरोपेली सांसद गिल्स बोयरले युरोपले लामो समयदेखि अमेरिकी वित्तीय प्रणालीमाथिको परनिर्भरता भोगिरहेको भन्दै अब आफ्नै सार्वभौम भुक्तानी प्रणाली निर्माण गर्ने उपयुक्त समय आएको बताउनुभयो। विशेष गरी सन् २०२५ मा अमेरिकाले अन्तर्राष्ट्रिय फौजदारी अदालतका न्यायाधीशहरूमाथि प्रतिबन्ध लगाउँदा एक फ्रान्सेली न्यायाधीशले आफ्नो भिसा कार्ड प्रयोग गर्न नसकेको घटनाले युरोपको वित्तीय स्वतन्त्रतामाथि ठूलो प्रश्न उठाएको थियो।

यद्यपि, डिजिटल युरो योजनाप्रति युरोपेली व्यावसायिक बैंकहरू भने सशङ्कित देखिएका छन्। बैंकहरूले नयाँ प्रणालीमा रूपान्तरण हुन ठूलो वित्तीय खर्च लाग्ने र ग्राहकहरूले आफ्नो निक्षेप डिजिटल युरोमा सारेमा बैंकहरूको वित्तीय स्थिरतामा नकारात्मक असर पर्न सक्ने चिन्ता व्यक्त गरेका छन्।

युरोपेली बैंकिङ महासङ्घले यसका लागि करिब १८ अर्ब युरो खर्च लाग्ने अनुमान गरेको छ भने इसिबीले वास्तविक लागत ४ देखि ५.८ अर्ब युरो मात्र रहने दाबी गरेको छ। इसिबीका डिजिटल युरो सल्लाहकार एलेसान्ड्रो जियोभान्निनीले बैंक तथा व्यवसायीहरूलाई नयाँ प्रणालीमा अनुकूल हुन केही समय आवश्यक पर्ने बताउनुभयो।

नयाँ डिजिटल युरोले युरोपको आफ्नै स्थापित अनलाइन सेवा र प्यान–युरोपेली भुक्तानी प्रणाली ‘वेरो’सँग प्रतिस्पर्धा गर्ने भय पनि बैंकहरूमा देखिएको छ।