नेप्से परिसूचकमा २६.१६ अङ्कको गिरावट, बजार २७०० को विन्दुभन्दा तल ओर्लियो

काठमाडौँ, ९ असार । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक आज मङ्गलवार दोहोरो अङ्कले घटेर बन्द भएको छ। विगत केही दिनदेखि २,७०० विन्दुको आसपासमा घुमिरहेको नेप्से यस दिन २६.१६ अङ्कले ओरालो लाग्दै २,६७४.४८ विन्दुमा झरेको छ। परिसूचकसँगै यस दिन कारोबार रकममा पनि गिरावट आएको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स २.३१ अङ्क, फ्लोट इण्डेक्स १.६३ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८९ अङ्कले घटेका छन्। सोमबार ४ अर्ब ४४ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएकोमा मङ्गलवार ३५३ कम्पनीका ७२ हजार ८५४ पटकको कारोबारमा ४ अर्ब ३६ करोड २१ लाख ९४ हजार रुपैयाँ बराबरको १ करोड ४० हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

आजको कारोबारमा दुई जलविद्युत् कम्पनीहरू टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिङ्ग हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यी दुईबाहेक अन्य मूल्य बढेका कम्पनीहरूको वृद्धिदर भने ६ प्रतिशतभन्दा कम रहेको छ। अर्कातर्फ, बुङ्गल हाइड्रोपावरको सेयर मूल्य यस दिन सबैभन्दा धेरै १५ प्रतिशत र एपोलो हाइड्रोपावरको सेयर मूल्य ११ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ।

कारोबार रकमका आधारमा यस दिन आँखु खोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ३४ करोड १६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो। यस्तै, सोपान फर्मास्युटिकल्सको करिब १९ करोड रुपैयाँ र रिलायन्स स्पिनिङ मिल्सको १७ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।

कारोबार भएका १३ उपसमूहमध्ये मङ्गलवार केवल म्युचुअल फण्ड उपसमूहको परिसूचकमा सामान्य वृद्धि भएको छ भने बाँकी १२ उपसमूहको परिसूचक घटेको छ। घटेका उपसमूहहरूमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सबैभन्दा बढी १.९२ प्रतिशतले ओरालो लागेको छ।