बाँदर धपाउन दिक्तेल रूपाकोट नगरपालिकामा ४५ लाख बजेट, ‘बाली हेरालु’ राखिने

खोटाङ, १० असार । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि बाँदर नियन्त्रणलाई प्राथमिकतामा राख्दै विशेष बजेट विनियोजन गरेको छ। बाँदरको आतङ्कबाट हैरान भएका किसानलाई राहत दिलाउन नगरपालिकाले १५औँ नगरसभाबाट ‘बाली हेरालु’ राख्ने योजनासहित ४५ लाख रुपैयाँ छुट्याएको हो।

नगर उपप्रमुख विशन राईले सोमबार प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८३/८४ को बजेटमा बाँदरलगायतका वन्यजन्तुबाट कृषि बालीमा हुने क्षति न्यूनीकरणका लागि उक्त रकम विनियोजन गरिएको छ। नगरपालिकाले आगामी वर्षका लागि कुल १ अर्ब १ करोड ५५ लाख ३१ हजार १०१ रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

नगरप्रमुख तीर्थराज भट्टराईले बाँदरको समस्या समाधान गर्न हरेक वडा र टोलमा ‘बाली हेरालु’ परिचालन गरिने जानकारी दिनुभयो। “बाँदरको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न सङ्घीय सरकार र छिमेकी पालिकाहरूसँग पनि समन्वय गरिनेछ,” उहाँले भन्नुभयो।

कृषि उत्पादनलाई मुख्य प्राथमिकतामा राखेको नगरपालिकाले आगामी वर्ष ‘किसानलाई के चाहिन्छ?’ कार्यक्रमसमेत सञ्चालन गर्ने भएको छ। यस कार्यक्रमअन्तर्गत किसानको घरदैलोमै पुगेर प्राविधिक सेवा उपलब्ध गराउने, उन्नत बीउबिजन वितरण गर्ने र एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने नीति लिइएको छ।

खोटाङका १० स्थानीय तहमध्ये अधिकांशले आफ्नो नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिसकेका छन्। हलेसी तुवाचुङ नगरपालिकाले ८४ करोड ११ लाख ८२ हजारको बजेट ल्याएको छ भने केपिलासगढी गाउँपालिकाले ४७ करोड ५१ लाख ५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

खोटेहाङ, साकेला, रावाबेँसी, बराहपोखरी र ऐसेलुखर्क गाउँपालिकाले भने बुधबार (आज) बजेट प्रस्तुत गर्ने तयारी गरेका छन्। जिल्लाका अन्य पालिकाहरू जन्तेढुङ्गा र दिप्रुङ चुइचुम्माले असार ७ गते नै नीति तथा कार्यक्रम ल्याइसकेका छन्।