कङ्गोमा इबोला सङ्क्रमण भयावह बन्दै: १ हजारभन्दा बढीमा पुष्टि, २७७ को मृत्यु

एजेन्सी, १० असार । डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा गत मे १५ देखि फैलिएको इबोला महामारीका कारण हालसम्म २७७ जनाको मृत्यु भएको छ भने सङ्क्रमितको सङ्ख्या १ हजार ९४ पुगेको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार अफ्रिकाको इतिहासमै महामारी सुरु भएको पहिलो महिनामा यति ठूलो सङ्ख्यामा इबोला सङ्क्रमण पुष्टि भएको यो पहिलोपटक हो।

डब्लुएचओको “हेल्थ इमर्जेन्सी अलर्ट एन्ड रेस्पोन्स अपरेसन” का निर्देशक अब्दिराहमान महामुदले जेनेभामा पत्रकार सम्मेलन गरी रोगको फैलावट निकै तीव्र गतिमा भइरहेको बताउनुभयो। उहाँका अनुसार कङ्गोमा हाल ३८७ जना सङ्क्रमितको उपचार भइरहेको छ भने ११५ जना निको भएका छन्। कङ्गो सरकारले ४४ जनाको शङ्कास्पद मृत्युसहित थप १३१ वटा शङ्कास्पद घटनाहरूको अनुसन्धान गरिरहेको छ।

बिरामीको चाप बढेसँगै कङ्गोमा उपचार क्षमता विस्तार गरी ५०० भन्दा बढी शय्या तयार पारिएको छ। यसअघि राजधानी किन्शासामा दैनिक ३० जनाको मात्र परीक्षण हुँदै आएकोमा हाल इटुरी, उत्तरी किवु र दक्षिण किवु प्रान्तमा आठ विकेन्द्रीकृत प्रयोगशाला स्थापना गरी दैनिक दुई हजारभन्दा बढीको परीक्षण सम्भव बनाइएको छ।

कङ्गोका राष्ट्रपति फेलिक्स त्सेसेकेदीले बुरुन्डीका राष्ट्रपति एभारिस्ट नदाइसिमियीसँग किन्शासामा संयुक्त पत्रकार सम्मेलन गर्दै महामारी नियन्त्रणका लागि बलियो क्षेत्रीय सहयोग आवश्यक रहेको बताउनुभयो। उहाँ आफैँ अति प्रभावित इटुरी प्रान्तको प्रतिकार्य अभियानको स्थलगत अनुगमनमा जाने तयारीमा हुनुहुन्छ। यसैबीच, बुरुन्डीका राष्ट्रपति नदाइसिमियीले महामारीलाई बहाना बनाएर अफ्रिकी मुलुकहरूले तत्काल सीमा नाकाहरू बन्द नगर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिल गर्नुभएको छ।

कङ्गोको इटुरी प्रान्तसँग सिमाना जोडिएको छिमेकी देश युगान्डामा पनि हालसम्म २० जनामा इबोला सङ्क्रमण पुष्टि भइसकेको छ, जसमध्ये १५ वटा केस कङ्गोबाट आयातित हुन्। युगान्डामा सङ्क्रमितमध्ये १४ जना निको भएका छन् भने दुई जनाको मृत्यु भएको छ।

महामारी नियन्त्रणका लागि कङ्गो र युगान्डाले सीमा क्षेत्रमा संयुक्त रूपमा मोबाइल प्रयोगशाला, द्रुत प्रतिकार्य टोली र इबोला उपचार केन्द्रहरू स्थापना गर्ने सम्झौता गरेका छन्। डब्लुएचओले नयाँ क्षेत्रमा इबोला तीव्र गतिमा विस्तार भइरहेकाले कङ्गो र समग्र मध्य अफ्रिकी क्षेत्रमा यसको राष्ट्रिय तथा क्षेत्रीय जोखिम उच्च रहेको चेतावनी दिएको छ।