उपाध्यक्ष विष्णु पौडेललाई गैरकानूनी रूपमा थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर
काठमाडौँ, १० असार । पूर्वउपप्रधानमन्त्री एवं नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई गैरकानूनी रूपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर भएको छ। उपाध्यक्ष पौडेलकी श्रीमतीले बुधबार दायर गर्नुभएको रिटमा राजनीतिक प्रतिशोध राखेर बिना कुनै प्रमाण र कानुनी आधारमा पक्राउ गरिएकाले तत्काल रिहाइको आदेश जारी गर्न माग गरिएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्ट र कमलकिशोर मालपानी समूहबीचको सेयर कारोबारमा चिनजान गराइदिएको भनी प्राप्त बयानका आधारमा पौडेललाई पक्राउ गरेको थियो। मङ्गलबार मात्रै उहाँलाई थप अनुसन्धानका लागि भन्दै अदालतबाट पाँच दिनको हिरासत म्याद थप गरिएको थियो।
गत सोमबार सुर्खेतमा आयोजित पार्टीको एक कार्यक्रममा सहभागी भइरहेकै बेला प्रहरीले पौडेललाई नियन्त्रणमा लिएको थियो। उहाँलाई रातारात सार्वजनिक सवारीसाधनमा राखेर काठमाडौँ ल्याइएको भन्दै एमालेका नेता तथा समर्थकहरूले आपत्ति जनाउँदै आएका छन्।
रिट निवेदकले वस्तुनिष्ठ प्रमाण बिना नै बलजफ्ती नियन्त्रणमा लिने कार्य विधिको शासन विपरीत भएको जिकिर गर्नुभएको छ। सर्वोच्च अदालतले यस रिटमाथि छिट्टै सुनुवाइ गर्ने जनाएको छ।