कैलालीको टीकापुरमा ३४७ बालबालिकामा कुपोषण देखियाे

कैलाली ११ असार । कैलालीको टीकापुर नगरपालिकामा पाँच वर्षमुनिका बालबालिकाहरूमा कुपोषणको गम्भीर समस्या देखिएको छ। वैशाख महिनामा गरिएको ‘राष्ट्रिय पोषण लेखाजोखा’ कार्यक्रमको प्रतिवेदनअनुसार नगरपालिकाभित्र ३४७ जना बालबालिका कुपोषित भेटिएका हुन्।

तथ्याङ्कअनुसार ७५ जना बालबालिका शीघ्र कुपोषणको उच्च जोखिममा छन् भने २७२ जनामा मध्यम कुपोषण देखिएको छ। अभियानका क्रममा कुल १ हजार ८ सय ६४ बालबालिकाको पोषण परीक्षण गरिएको थियो।

बालबालिकामा कुपोषणको दर उच्च देखिएपछि नगरपालिकाले पोषण सुधारका लागि पहलकदमी थालेको छ। स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलका अनुसार कुपोषित बालबालिकाको पहिचान र उपचारका लागि महिला स्वास्थ्य स्वयंसेविकालाई विशेष तालिम दिएर पुनः समुदायस्तरमा ‘स्क्रिनिङ’ सुरु गरिएको छ।

“हामीले गर्भावस्थादेखि नै पोषणमा सुधार ल्याउन वडा–वडाका स्वास्थ्य संस्थामार्फत काम गरिरहेका छौँ,” रावलले भन्नुभयो, “अहिले पाँचवटा स्वास्थ्य संस्थामार्फत कुपोषित बालबालिकालाई उपचारात्मक खाना खुवाउने व्यवस्था मिलाइएको छ।”

पोषण सुधारका लागि ‘हजार दिने आमा’ (गर्भावस्थादेखि बच्चा दुई वर्षको हुञ्जेल) लाई लक्षित गरी सचेतना कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। स्वयंसेविकाहरूले घरदैलोमा पुगेर स्थानीयस्तरमा पाइने पोषिला खानेकुरा, स्तनपान र पूरक आहाराबारे परामर्श दिइरहेका छन् । यद्यपि, समुदायमा जनचेतना फैलाउँदा पनि परिवारका सदस्यहरू जिम्मेवार नबन्दा बालबालिकाको स्वास्थ्यमा अपेक्षाकृत सुधार आउन नसकेको स्वयंसेविकाहरूको गुनासो छ। स्थानीय स्तरमा उपलब्ध हुने अण्डा, घ्यू, गेडागुडी र हरियो सागपातको प्रयोग बढाउन परिवारलाई प्रेरित गरिरहेको उनीहरूले बताएका छन्।

कुपोषण न्यूनीकरणका लागि नगरपालिकाका वडाहरूले पनि सक्रियता देखाएका छन्। टीकापुर नगरपालिका–४ ले हालै ५० जना सुत्केरी महिलालाई पोषण सामग्री वितरण गरेको छ। वडाध्यक्ष लालवीर चौधरीका अनुसार सुत्केरी आमा र बच्चाको स्वास्थ्यलाई ध्यानमा राख्दै प्रतिव्यक्ति आधा किलो घ्यू र एक क्यारेट अण्डा वितरण गरिएको हो।

नगरपालिकाले बाल भिटाको प्रयोग बढाउन, नियमित स्वास्थ्य जाँच गर्न र खानपानको व्यवहारमा परिवर्तन ल्याउन सके मात्र कुपोषणको दर घटाउन सकिने निष्कर्ष निकालेको छ। उनीहरूले पोषण सुधारका लागि स्वास्थ्यकर्मी र सरकारको प्रयाससँगै परिवारको सक्रिय सहभागिता अनिवार्य रहेकोमा जोड दिएका छन्।