फेवातालमा जलपर्यटन गतिविधिमा कडाइ: साँझ ६ बजेपछि रोक, १९ बुँदे निर्देशन जारी

काठमाडौँ, असार ११ । पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवातालमा पछिल्लो समय बढ्दै गएको दुर्घटनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीले जलपर्यटन गतिविधिमा कडाइ गरेको छ । प्रशासनले आज एक सूचना जारी गर्दै डुङ्गा, कायकिङ तथा सर्फिङ व्यवसायलाई थप सुरक्षित र व्यवस्थित बनाउन १९ बुँदे निर्देशन जारी गरेको हो ।

नयाँ व्यवस्थाअनुसार फेवातालमा जलपर्यटन गतिविधिमा संलग्न हुने सबैले अनिवार्य रूपमा लाइफ ज्याकेट लगाउनुपर्नेछ । लाइफ ज्याकेटबिना कुनै पनि सेवा सञ्चालन गर्न नपाइने प्रशासनले स्पष्ट पारेको छ । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार सेवा प्रदायकले गतिविधि सुरु गर्नुअघि सेवाग्राहीलाई सञ्चालन विधि, सम्भावित जोखिम र आपतकालीन सुरक्षाका उपायबारे अनिवार्य रूपमा पूर्वजानकारी गराउनुपर्नेछ ।

बर्खायाममा हुने हावाहुरी, चट्याङ र वर्षाको जोखिमलाई ध्यानमा राख्दै प्रशासनले समय सीमा समेत निर्धारण गरेको छ । दिउँसो २ बजेपछि विशेष सावधानी अपनाउन र साँझ ६ बजेपछि सबै प्रकारका जलपर्यटन गतिविधि पूर्ण रूपमा बन्द गर्न निर्देशन दिइएको छ । मौसम सामान्य देखिए पनि एक्कासी आउने हावाहुरीका कारण हुनसक्ने जोखिमलाई टार्न सुरक्षा निकायसँगको समन्वयमा मात्र सेवा सञ्चालन गर्न भनिएको छ ।

प्रशासनले व्यवसाय दर्ता, नवीकरण, बिमा, मूल्यसूची प्रदर्शन र बिल बिजकको अनिवार्य व्यवस्था गर्न समेत व्यवसायीहरूलाई सचेत गराएको छ । अनुगमनका क्रममा कतिपय व्यवसाय दर्ता बिना सञ्चालन भएको र सुरक्षा मापदण्ड पालना नगरिएको पाइएपछि यस्तो कदम चालिएको सहायक प्रजिअ बरालले जानकारी दिनुभयो ।

  • व्यवसायी वा चालकले मद्यपान, धूमपान वा लागुपदार्थ सेवन गरी सेवा दिन नपाउने ।

  • मद्यपान वा लागुपदार्थ सेवन गरेका सेवाग्राहीलाई सेवा दिन रोक लगाइने ।

  • १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई अभिभावकबिना जलपर्यटन गतिविधिमा सहभागी गराउन नपाइने ।

  • दुर्घटना भएमा तत्काल सशस्त्र प्रहरीको रेस्क्यु टोली र सुरक्षा निकायलाई खबर गरी उद्धार तथा उपचारको व्यवस्था मिलाउनुपर्ने ।

प्रशासनले यी निर्देशनहरूको उल्लंघन गर्ने व्यवसायी वा सञ्चालकलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ । प्रतिकूल मौसम र सुरक्षा संवेदनशीलतालाई बुझेर सहयोग गर्न प्रशासनले सबै सरोकारवाला र पर्यटकहरूमा आग्रह समेत गरेको छ ।