मेची राजमार्गको राजदुवालीमा पहिरोले सडक पूर्ण रूपमा ठप्प, पहाडी तीन जिल्लाका यात्रु अलपत्र

इलाम, १४ असार । वर्षासँगै आएको लेदोसहितको पहिरोका कारण मेची राजमार्ग अन्तर्गत इलामको गोलाखर्क-राजदुवाली सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

गएरातिदेखि खसेको पहिरोले पहाडी जिल्लाहरू इलाम, पाँचथर र ताप्लेजुङलाई झापासँग जोड्ने मुख्य सडक ठप्प पार्दा सयौँ यात्रु बीच बाटोमै अलपत्र परेका छन्। इलाम नगरपालिका-९ स्थित माईखोला क्षेत्रमा सडकमाथिबाट ठुलो परिमाणमा लेदो र पहिरो झरेका कारण यातायात सञ्चालन असम्भव भएको हो।

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालका अनुसार राजदुवाली खण्ड सधैँ जोखिमयुक्त रहँदै आएको छ। “गएरातिदेखि लगातार लेदो झरिरहेकाले सडक पूर्ण रूपमा अवरुद्ध छ,” प्रजिअ ढकालले भन्नुभयो, “अहिले साना सवारीसाधनका लागि मात्र भए पनि एकतर्फी रूपमा बाटो खुलाउने प्रयास भइरहेको छ, तर ठूला सवारीसाधन सञ्चालनमा ल्याउन केही समय लाग्ने देखिएको छ।”

मेची राजमार्गकै अर्को खण्ड रोङ गाउँपालिका-४ स्थित इलाम र झापाको सीमा क्षेत्रमा पनि सडक अवरुद्ध भएको छ। त्यहाँ सडकमाथिबाट ढिस्को खस्नुका साथै दुईवटा ठुला रूख ढलेर बाटो छेकेको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख एवं प्रहरी उपरीक्षक कुलदीप चन्दले जानकारी दिनुभयो। प्रहरी टोलीले त्यहाँ पनि अवरोध पन्छाउने काम गरिरहेको छ।

राजमार्गका विभिन्न ठाउँमा पहिरो खसेपछि झापाबाट इलाम, पाँचथर र ताप्लेजुङतर्फ जाँदै गरेका र ती जिल्लाबाट झापातर्फ झर्दै गरेका सवारीसाधन बीच बाटोमै रोकिएका छन्। वर्षा जारी रहेकाले र सडकमा चिप्लो लेदो थुप्रिएकाले यात्रा थप जोखिमपूर्ण बनेको छ।
इलामका पहाडी क्षेत्रमा वर्षा नरोकिएकाले चालक तथा यात्रुहरूलाई उच्च सतर्कता अपनाउन र सम्भव भएसम्म सडकको अवस्था बुझेर मात्र यात्रा तय गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।