सुनचाँदीको मूल्यमा पुनः वृद्धि: सुन तोलामा ४ हजार ७०० र चाँदी १४५ रुपैयाँले बढ्यो
काठमाडौँ, १४ असार । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा आइतबार वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला ४ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १४५ रुपैयाँले बढेको हो।
महासङ्घले निर्धारण गरेको नयाँ मूल्यसूची अनुसार आइतबार छापावाल सुन प्रतितोला २ लाख ८३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार सुन प्रतितोला २ लाख ७९ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
यसैगरी, चाँदीको मूल्य पनि आज बढेर प्रतितोला ४ हजार ३२५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी प्रतितोला ४ हजार १८० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस ४ हजार ८ अमेरिकी डलर र चाँदी प्रतिऔँस ५६ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।