असारे भाकाले सात समुद्र पारका मनहरू जोडिए : पोखराको फाँटमा विदेशीको ‘हिलो-होली’
काठमाडौँ, असारा १४ । पोखरा, १४ असार । असारको मध्य घाम र पानीको लुकामारीबीच कास्कीको शिशुवा देउरालीस्थित खेतका फाँटहरू आज अर्कै रौनकले झकिझकाउ थिए । एकातिर बाउसेहरू हिलो सम्याउँदै थिए, अर्कोतिर रोपारहरू असारे गीतको भाकामा धानका बिरुवा रोप्न व्यस्त थिए । तर, यो दृश्यमा केवल स्थानीय कृषक मात्र थिएनन्, सात समुद्र पारबाट आएका विदेशी पर्यटकहरू पनि अनुहारभरि हिलो दलेर ‘असारे रमाइलो’ मा झुमिरहेका थिए ।
पोखरा पर्यटन परिषद्ले आयोजना गरेको २१ औँ ‘असारे रोपाइँ महोत्सव’ ले शुक्रबार पोखरालाई कृषि र पर्यटनको एउटा यस्तो साझा रङ्गमञ्च बनायो, जहाँ भाषा नबुझे पनि हिलो र माटोको सुगन्धले सबैलाई एकै सूत्रमा बाँधेको थियो ।
हिलोमा हराएको भूगोल
महोत्सवमा अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, चीन र छिमेकी देश भारतका पर्यटकहरूको उल्लेख्य सहभागिता थियो । आफ्नो क्यामरा र महँगा मोबाइल एकातिर पन्छाएर उनीहरू स्थानीयसँगै हिलोमा उत्रिए । कोही हिलोमा फुटबल खेल्दै थिए त कोही असारे भाकामा कम्मर मर्काउँदै थिए ।
‘यो मेरो जीवनकै सबैभन्दा अद्भुत अनुभव हो ।’ हिलोले लत्पत्तिएको अनुहार पुछ्दै एक फ्रान्सेली पर्यटकले खुसी साट्दै भन्नुभयो, ‘नेपाल केवल हिमालको देश मात्र होइन रहेछ, यहाँको माटो र मान्छेको सम्बन्ध त झन् गहिरो रहेछ ।’
परम्परा र पर्यटनको सङ्गम
‘पोखरा सबै मौसमका लागि’ भन्ने नारालाई सार्थक बनाउन यो महोत्सव दुई दशकदेखि कोसेढुङ्गा सावित हुँदै आएको छ । सामान्यतया असार १५ गते मनाइने ‘राष्ट्रिय धान दिवस’ यस वर्ष पूर्णिमाका कारण एक दिन अघि अर्थात् असार १४ गते नै मनाइयो । परम्परागत मान्यता अनुसार पूर्णिमाका दिन हल गोरु नचलाउने चलन रहेकाले महोत्सवलाई अघिल्लो दिन नै सारिएको आयोजक पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले जानकारी दिनु भयो।
‘हामी विदेशी पर्यटकलाई नेपाली जीवनशैली र मौलिक संस्कृतिसँग प्रत्यक्ष साक्षात्कार गराउन चाहन्छौँ ।’ पहारी भन्नुहुन्छ, “यस्ता कार्यक्रमले पोखराको पर्यटनलाई दिगो बनाउन र कृषिलाई उत्सवका रूपमा स्थापित गर्न मद्दत पुर्याउँछ ।’
जेठोबुढोको ब्रान्डिङ र आधुनिकताको पाइला
महोत्सवको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराको आफ्नै पहिचान रहेको ‘पोखरेली जेठोबुढो’ धानलाई ब्रान्डिङ गर्न सुरु गरिएको बताउनुभयो ।
खेतका गरामा ट्रयाक्टर र आधुनिक मेसिनको चर्चा भइरहँदा पनि आजको दिन भने गोरुले हिल्याएको हिलो र हातले रोपेको धानको बेर्ना नै आकर्षणको केन्द्र बन्यो । महोत्सवका संयोजक एवं परिषद्का महासचिव जीवनराज सापकोटाका अनुसार, यो महोत्सवले स्थानीय आर्थिक गतिविधिलाई चलायमान बनाउनुका साथै ग्रामीण पर्यटनको महत्त्वलाई विश्वस्तरमा पुर्याएको छ ।
जब साँझ पर्न थाल्यो, पर्यटकहरू हिलो पखालेर खेतबाट निस्किए, तर उनीहरूको मनमा नेपाली माटोको मोह र असारे भाकाको प्रतिध्वनि बाँकी नै थियो । पोखराको यो रोपाइँ महोत्सवले के सिद्ध गरिदिएको छ भने, संस्कृति र प्रकृतिलाई पर्यटनसँग जोड्न सके नेपालका खेतका गराहरू केवल धान फलाउने ठाउँ मात्र होइनन् विश्वलाई लोभ्याउने ‘पर्यटकीय गन्तव्य’ पनि बन्न सक्छन् ।
हिलोमा रमाएका ती विदेशी अनुहारहरूको मुस्कानले भनिरहेको थियो, असार केवल झरीको महिना होइन, यो त सम्बन्ध र संस्कृतिको रोपाइँ गर्ने उत्सव पनि हो ।