असार १५ राष्ट्रिय धान दिवस: भक्तपुरमा एकैदिन एक लाख लिटरभन्दा बढी ‘जुजु धौ’ बिक्री

भक्तपुर, १५ असार । नेपाली संस्कृति र रैथाने परम्पराअनुसार असार १५ (राष्ट्रिय धान दिवस) का दिन दही चिउरा खाने प्रचलनका कारण भक्तपुरको प्रसिद्ध दही ‘जुजु धौ’ (दहीको राजा) को माग अत्यधिक बढेको छ। भक्तपुर जुजु धौ व्यवसायी सङ्घका अनुसार यस विशेष दिनमा भक्तपुरबाट मात्रै एक लाख लिटरभन्दा बढी जुजु धौको व्यापार भएको छ।

भक्तपुर जुजु धौ व्यवसायी सङ्घका अध्यक्ष कृष्णगोपाल सैजुले असार १५ का दिन दही खरिद गर्ने उपभोक्ताको बिहानैदेखि भीड लागेको र कतिपय पसलमा मध्याह्नसम्ममै दही सकिएको जानकारी दिनुभयो।

“सामान्य दिनमा दैनिक करिब २०० लिटर दही बिक्री गर्ने व्यवसायीले आज मध्याह्नसम्ममै दुई हजार लिटरभन्दा बढी दही बेचिसकेका छन्,” अध्यक्ष सैजुले भन्नुभयो, “आज एकै दिनमा परम्परागत माटोको कतारो (भाँडो) मा जमाइएको दही मात्रै ५० हजार लिटरभन्दा बढी बिक्री भएको छ।”

सङ्घमा हाल ४९ जना व्यावसायिक जुजु धौ उत्पादकहरू आबद्ध छन्। यस दिनका लागि भक्तपुरमा भित्रिने दूधको परिमाण साबिकको २५ हजार लिटरबाट दोब्बर पारिएको थियो।

परम्परागत रूपमा जुजु धौ बनाउन दाउराको चुलोमा दूधलाई भकभकी उमालेर बाक्लो बनाइन्छ। त्यसमा चिनी र सुगन्धित मसला मिसाई माटोको कतारोमा भुसमाथि राखेर जुटको बोराले छोपिन्छ र करिब तीन घण्टामा दही तयार हुन्छ।

व्यवसायी रामसुन्दर सैजुले बजारमा शुद्ध दूधको अभावका कारण माग अनुसारको दही उत्पादन गर्न कठिन भएको गुनासो गर्नुभयो। सुकुलढोकामा पुस्तौँदेखि दही बनाउँदै आउनुभएका राम सैजुले पछिल्लो समय फ्रिज र प्लास्टिकका भाँडामा जमाइएको सामान्य दहीलाई समेत ‘जुजु धौ’ भनी बिक्री गर्दा यसको रैथाने गुणस्तर र साख घटेकोमा चिन्ता व्यक्त गर्नुभयो। “वास्तविक जुजु धौ चक्कुले टुक्रा पारेर काट्न सकिन्छ र भाँडो घोप्ट्याउँदा पनि पोखिँदैन,” उहाँले भन्नुभयो।

संस्कृतिकर्मी प्रकाशचन्द्र अमात्यका अनुसार मल्लकालमा राजाले समेत रुचाएर खाने उत्कृष्ट दही भएकाले नेवारी भाषामा यसलाई ‘जुजु धौ’ (दहीको राजा) भनिएको हो। भक्तपुरका व्यवसायीहरूले अपनाउने तापक्रमको सन्तुलन, मौलिक माटोको भिउँट र गुणस्तरीय दूधको संयोजनले नै यस दहीलाई विशिष्ट पहिचान दिलाएको उहाँको भनाई छ।