नेप्से परिसूचकमा २४ अङ्कको गिरावट, बजार ६ महिनायताकै तल्लो विन्दुमा ओर्लियो
काठमाडौँ, १६ असार । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक लगातार सातौँ कारोबार दिन पनि घटेर बन्द भएको छ। मङ्गलवार नेप्से २४.६३ अङ्कले ओरालो लागेर २,६०८ विन्दुमा झरेको छ। यो विन्दु गत पुस ९ गते यताकै सबैभन्दा न्यून विन्दु हो, जतिबेला नेप्से २,५८५ विन्दुमा सीमित रहेको थियो।
अघिल्लो साताका पाँचै दिन घटेको बजार यो साताका सुरुवाती दुई दिन पनि लगातार ओरालो लागेको छ। परिसूचक घटे पनि यस दिन कारोबार रकममा भने सुधार आएको छ। सोमबार २ अर्ब ६७ करोड रुपैयाँको सेयर खरिदबिक्री भएकोमा मङ्गलवार बढेर ३ अर्ब २५ करोड रुपैयाँ पुगेको छ। कुल सूचीकृत कम्पनीहरूमध्ये आज ३५ कम्पनीको सेयर मूल्य बढेको छ भने २३५ कम्पनीको मूल्य घटेको छ। बाँकी ५ कम्पनीको सेयर मूल्य यथावत् रहेको छ।
मङ्गलवार कारोबारमा आएका १३ वटै उपसमूहको सूचक घटेर बजार राताम्मे भएको छ। जसमध्ये व्यापार उपसमूहको सूचक सबैभन्दा बढी १.७४ प्रतिशत र जलविद्युत् उपसमूहको सूचक १.४३ प्रतिशतले घटेको छ। यसैगरी अन्य १.३१ प्रतिशत, उत्पादन तथा प्रशोधन १.२० प्रतिशत र फाइनान्स १.०० प्रतिशतले ओरालो लागेका छन्। बैंकिङ, विकास बैंक, लगानी, जीवन बीमा, निर्जीवन बीमा र लघुवित्त उपसमूहको सूचक पनि घटेको छ।
आजको कारोबारमा हालै मात्र नेप्सेमा सूचीकृत भएको स्नो रिभर्सको सेयर मूल्य सर्वाधिक १५ प्रतिशतले वृद्धि भएको छ। यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको १३.०४ प्रतिशत, स्वाभिमान लघुवित्तको १०.८० प्रतिशत र सिर्जनशील लघुवित्तको मूल्य ७.३९ प्रतिशतले बढेको छ।
लगातार बढिरहेको टक्सार पिखुवाखोला हाइड्रोपावरको सेयर मूल्य यस दिन सबैभन्दा बढी १४.०३ प्रतिशत र याम्बालिङ हाइड्रोपावरको मूल्य ८.२३ प्रतिशतले ओरालो लागेको छ। यी दुवै जलविद्युत् कम्पनीहरू नेप्सेमा सूचीकृत भएपछि पहिलोपटक ओरालो लागेका हुन्।
कारोबार रकमका आधारमा यस दिन सिद्धार्थ बैंक अग्रस्थानमा रह्यो। यस्तै, धेरै सेयर खरिदबिक्री हुने कम्पनीहरूमा क्रमशः टक्सार पिखुवाखोला, आँखुखोला जलविद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट र याम्बालिङ हाइड्रोपावर रहेका छन्।