कतारमा अमेरिकी र इरानी प्रतिनिधिबीच वार्ता नहुने स्पष्टोक्ति; होर्मुज जलडमरू र क्षेत्रीय तनावबारे इरानको कडा टिप्पणी
दोहा/तेहरान । कतारको परराष्ट्र मन्त्रालयले अमेरिकी विशेष दूतहरू जारेड कुश्नर र स्टिभ विट्कोफ हाल दोहामा रहेको पुष्टि गरे तापनि इरानी अधिकारीहरूसँग उनीहरूको कुनै पनि औपचारिक भेटघाट तय नभएको स्पष्ट पारेको छ।
गत हप्ता दुई देशबीच भएको सैन्य आक्रमणको आदानप्रदानपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले ‘भेटघाटका लागि अनुरोध गरेको’ दाबी गरेका थिए। तर, इरानको परराष्ट्र मन्त्रालयले ट्रम्पको उक्त दाबीलाई ठाडै अस्वीकार गरेको छ। इरानले कतारमा आफ्नो एउटा विशेषज्ञ टोली पठाउन लागेको भए तापनि त्यो टोली केवल कतारमा रोकिएको इरानी कोष फुकुवा गर्ने प्रक्रियाबारे छलफल गर्न मात्र केन्द्रित रहने बताएको छ।
६ अर्ब डलरको विषयमा छलफल
इरानी परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईका अनुसार आगामी केही दिनसम्म अमेरिकी पक्षसँग कुनै पनि तहमा वार्ता गर्ने योजना छैन। उनले भने, “हाम्रो टोली दोहामा समझदारी पत्र का प्रावधानहरू कार्यान्वयन गर्न, विशेष गरी कतारमा रोक्का गरिएको इरानी सम्पत्ति फुकुवा गर्ने विषयमा छलफल गर्न जान लागेको हो।”
कतारको परराष्ट्र मन्त्रालयका अनुसार इरानको करिब ६ अर्ब अमेरिकी डलर बराबरको कोष अझै पनि तेहरानमा स्थानान्तरण हुन बाँकी छ। इरानले यसै विषयलाई आफ्नो प्रमुख एजेन्डा बनाएको छ।
होर्मुज जलडमरू: बाह्य हस्तक्षेप स्वीकार्य छैन
रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने होर्मुज जलडमरूको सुरक्षा र त्यहाँ बिछ्याइएका ‘माइन’ (बारुदी सुरुङ) हटाउने विषयमा इरानले कडा अडान लिएको छ। प्रवक्ता बाघेईले होर्मुज क्षेत्रमा माइन सफा गर्न कुनै पनि विदेशी शक्ति वा हस्तक्षेपको आवश्यकता नरहेको बताएका छन्। उनले बाह्य हस्तक्षेपले स्थितिलाई झन् जटिल बनाउने भन्दै यस क्षेत्रको सुरक्षा र व्यवस्थापन क्षेत्रीय देशहरूकै जिम्मेवारी भएको दाबी गरे।
विश्व अर्थतन्त्रमा ‘होर्मुज संकट’को दीर्घकालीन असर
संयुक्त राष्ट्रसंघीय व्यापार र विकास निकाय (UNCTAD) ले एक प्रतिवेदन सार्वजनिक गर्दै होर्मुज जलडमरू पुनः खुल्दा ऊर्जा बजारमा केही राहत मिले पनि विश्वका कमजोर अर्थतन्त्रहरू अझै जोखिममा रहेको चेतावनी दिएको छ।
गत फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि यो जलमार्ग करिब १०० दिनसम्म ठप्प भएको थियो। विश्वको कुल तेल र ग्यास आपूर्तिको पाँचौँ हिस्सा ओगट्ने यो मार्ग बन्द हुँदा आपूर्ति श्रृङ्खला ध्वस्त भएको छ। संयुक्त राष्ट्र संघका अनुसार ऊर्जा बजार छिटो तङ्ग्रिए पनि खाद्य सामग्री र यातायातको लागत घट्न लामो समय लाग्ने देखिएको छ, जसले गर्दा विकासोन्मुख देशहरूमा महँगीको मार अझै केही समय रहनेछ।
गाजा र लेबनानमा इजरायली आक्रमण जारी
क्षेत्रीय तनावका बीच इजरायली सेनाले गाजामा पुनः घातक आक्रमण गरेको छ, जसमा कम्तीमा आठ प्यालेस्टाइनीको मृत्यु भएको छ। उता, लेबनानको बेरुतमा युद्धविरामको सम्झौता भए तापनि इजरायलले दक्षिण लेबनानमा फेरि हवाई हमला गरेको छ। युद्धविरामको उल्लंघन गर्दै गरिएका यी हमलाहरूले मध्यपूर्वमा शान्ति स्थापनाको प्रयासलाई चुनौती दिएको छ।
इरान र अमेरिकाबीचको अविश्वास र इजरायलको सैन्य आक्रामकताका कारण यस क्षेत्रको संकट तत्काल टर्ने संकेत देखिएको छैन।(स्रोतः अन्तराष्ट्रिय न्यूज एजेन्सी)