डेंगु नियन्त्रणका लागि काठमाडौँ महानगरको पूर्वतयारी, असारभित्रै ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु हुने
काठमाडौँ, १७ असार । काठमाडौँ महानगरपालिका (कामपा) ले मनसुनको सुरुवातसँगै फैलिन सक्ने डेङ्गु रोग नियन्त्रणका लागि चालु असार महिनाभित्रै ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गर्ने भएको छ। पछिल्लो समय डेङ्गुका बिरामी देखा पर्न थालेपछि महानगरले पहिलो चरणअन्तर्गत सबै वडामा यो अभियान सञ्चालन गर्न लागेको हो।
महानगरपालिकाका महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका सम्पर्क व्यक्ति ऋषिप्रसाद भुसालका अनुसार यस वर्ष डेङ्गु नियन्त्रणका लागि १ हजार ६५० जना तालिमप्राप्त जनशक्ति परिचालन गरिनेछ। यस अभियानका लागि महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय क्लब, टोल सुधार समिति र आमा समूहका प्रतिनिधिहरूलाई विशेष प्राविधिक तालिम दिएर खटाउने अन्तिम तयारी पूरा भएको छ।
“महानगरले डेङ्गु सङ्क्रमण दरमा कमी ल्याउने, यसका कारण हुने मृत्युदर घटाउने र राष्ट्रिय लक्ष्य हासिल गर्ने उद्देश्य राखेको छ,” सम्पर्क व्यक्ति भुसालले भन्नुभयो, “यसका लागि कीट नियन्त्रण, निगरानी प्रणाली सुधार, बहुक्षेत्रीय सहकार्य र सामुदायिक सहभागिताको रणनीति अपनाइएको छ।”
सामान्यतया साउन महिनादेखि क्रमिक रूपमा फैलिने डेङ्गु सङ्क्रमण कात्तिक र मङ्सीरमा उत्कर्षमा पुग्ने भएकाले बेलैमा पूर्वतयारी सुरु गर्दा यस वर्ष सङ्क्रमण दरमा उल्लेख्य कमी ल्याउन सम्भव हुने उहाँको भनाइ छ।
डेङ्गु सङ्क्रमण फैलाउने ‘एडिस’ जातको लामखुट्टेले सफा र जमेको पानीमा फूल पार्ने गर्दछ। सडकका खाल्डाखुल्डी, करेसाबारी, गमला, कवाडी टायर, कौसी र बरण्डामा जम्ने पानी यस लामखुट्टेको प्रजननका लागि उपयुक्त स्थान मानिने भएकाले पानी जम्न नदिन चिकित्सकहरूले आग्रह गरेका छन्। सङ्क्रमित लामखुट्टेले टोकेको चारदेखि सात दिनभित्र बिरामीलाई कडा ज्वरो आउने, जीउ दुख्ने जस्ता लक्षणहरू देखिने गर्दछन्।