बर्दियाबाट लालपुर्जा वितरण अभियानको शुभारम्भ : भूमिहीनलाई जग्गाको स्वामित्व दिइने
काठमाडौँ, असार १८ । सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि देशव्यापी लालपुर्जा वितरण अभियान सुरु गरेको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज बर्दियाको बढैयाताल गाउँपालिकाबाट यस अभियानको औपचारिक थालनी गरेको हो ।
अभियानको पहिलो दिन बढैयाताल गाउँपालिका ४ का २९ जना भूमिहीन दलित तथा सुकुम्बासी परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) हस्तान्तरण गरिएको छ। वर्षौँदेखि जग्गाको स्वामित्वबाट वञ्चित रहेका नागरिकलाई कानुनी रूपमा मालिक बनाउने सरकारको दीर्घकालीन लक्ष्यअनुसार यो कदम चालिएको मन्त्रालयले जनाएको छ।
कार्यक्रममा बोल्दै मन्त्री प्रतिभा रावलले भूमिहीन र सुकुम्बासी समस्या समाधानलाई वर्तमान सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, ‘बर्दियाबाट सुरु भएको यो अभियानलाई क्रमशः देशभर विस्तार गरिनेछ। वास्तविक भूमिहीन नागरिकलाई जग्गाको कानुनी स्वामित्व दिलाउन सरकार प्रतिबद्ध छ ।’
यस अभियानले अव्यवस्थित बसोबासीको समस्यालाई समेत सम्बोधन गर्दै देशभरका वास्तविक सुकुम्बासीलाई भूमिमाथिको अधिकार सुनिश्चित गर्ने अपेक्षा गरिएको छ । लालपुर्जा वितरण कार्यलाई आगामी दिनमा थप प्रभावकारी र द्रुत गतिमा अघि बढाइने मन्त्रालयको भनाइ छ ।