सुनसान बन्दै असारे फाँट : आधुनिकताको भेलमा हराउँदै मौलिक ‘असारे भाका’
काठमाडौँ, असार १९ । असारको मध्य भइसक्यो । पाल्पाका माडीफाँटदेखि दमकडासम्मका खेतहरूमा हिलो छ्यापाछ्याप भइरहेको छ । मानो रोपेर मुरी उब्जाउने यो चटारोमा किसानहरू व्यस्त त छन् । तर एउटा कुराको ठूलो अभाव खड्किएको छ, त्यो हो, खेतका आली र गराहरूमा गुञ्जिने ‘असारे भाका’ ।
कुनै समय यस्तो थियो, जब असारे झरीसँगै खेतका गराहरूमा रोपाहारका गीत र बाउसेका ठट्टाले छुट्टै रौनक ल्याउँथ्यो । तर आजभोलि पाल्पाका फाँटहरूमा ट्रयाक्टरको आवाज त सुनिन्छ, तर त्यो मौलिक लोकभाका सुनिँदैन ।
फेरियो रोपाइँको शैली, हरायो मौलिकता
तिनाउ गाउँपालिकाकी सङ्गीता सारुको अनुभवमा अहिलेको रोपाइँ ‘खल्लो’ लाग्न थालेको छ । ‘पहिले-पहिले रोपाइँ सुरु हुनुभन्दा अघिल्लो दिनदेखि नै बाजागाजा र गीतको तयारी हुन्थ्यो ।’ अहिले त न कसैलाई गीत गाउन आउँछ, न त फुर्सद नै छ ।
७० वर्षीया भुनु नेपालका लागि त असार केवल खेती गर्ने समय मात्र थिएन, यो त एउटा उत्सव थियो । दही-चिउरा खाँदै, हिलो छ्याप्दै, ‘छुपुमा छुपु हिलोमा धान रोपेरै छोडौँला’ भन्दै गाउँदा दिन बितेको पत्तै हुँदैनथ्यो । अहिलेका केटाकेटीलाई असारे भाकाभन्दा मोबाइलको टिकटक प्रिय छ । खेतको हिलोमा बसेर हिन्दी गीतमा भिडियो बनाउँछन्, तर आफ्नै माटोको भाका बिर्सिए ।
संस्कृतिमाथि आधुनिकताको प्रहार
कृषिमा भित्रिएको आधुनिक मेसिनरी र युवा पुस्ताको विदेश पलायनले गर्दा पनि यो परम्परा सङ्कटमा परेको हो । पहिले गाउँभरिका मानिस मिलेर पालैपालो ‘पर्म’ लगाउने र सामूहिक रूपमा रमाउने चलन थियो । अहिले न गाउँमा युवा छन्, न त सामूहिक काम गर्ने जाँगर ।
असार १५ मा ठूला नेता र कर्मचारीहरू तामझामका साथ खेतमा ओर्लिन्छन्, फोटो खिचाउँछन् । तर कसैले पनि त्यो पुरानो मौलिक लयलाई समात्न खोज्दैनन् । हाम्रो संस्कृति त केवल देखावटी उत्सवमा सीमित हुन थाल्यो ।
पुराना पुस्ताका गीतहरू नयाँ पुस्ताले सिक्न चासो नदेखाउनु, हली र बाउसेको ठाउँ ट्रयाक्टरले लिएसँगै सामूहिक कामको लय बिग्रनु, लोकगीत र दोहोरीको ठाउँमा सामाजिक सञ्जाल र आधुनिक गीतहरूको वर्चस्व, गाउँका सिर्जनशील र बलिया युवाहरू बाहिरिएपछि खेतबारीमा वृद्धवृद्धाको मात्र उपस्थिति रहनु जस्ता कारण असारे गीतमाथि प्रहार भएको हो ।
असार केवल हिलो र धानसँग मात्र जोडिएको छैन, यो त हाम्रो श्रम, संस्कृति र पहिचानसँग जोडिएको छ। यदि समयमै यी मौलिक भाकाहरूको संरक्षण गरिएन भने, आगामी पुस्ताका लागि ‘असारे गीत’ केवल दन्त्यकथा वा युट्युबको भिडियोमा मात्र सीमित हुनेछ । खेतका गराहरूमा धानसँगै हाम्रो मौलिक संस्कृति पनि रोपिनु आवश्यक छ, तब मात्र असारको वास्तविक अर्थ रहला ।