कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न ‘सोनार क्यामेरा’ सहितको गोताखोर टोली परिचालन
दैलेख, २० असार । कर्णाली राजमार्गको दैलेख खण्डमा भएको गाडी दुर्घटनापछि नदीमा बेपत्ता गाडी र यात्रुको खोजीका लागि आधुनिक उपकरणसहितको टोली परिचालन गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट विशेष गोताखोर टोली घटनास्थलतर्फ पठाइएको हो।
सशस्त्र प्रहरी निरीक्षक प्रेमबहादुर तामाङको कमाण्डमा ४ जना गोताखोरसहितको टोली शनिबार नै कुरिनटारबाट हिँडिसकेको छ। सशस्त्र प्रहरीका प्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार यो टोली आज (आइतबार) घटनास्थल पुगेर खोजी कार्य सुरु गर्नेछ।
नदीको गहिराइ र धमिलो पानीमा बेपत्ता वस्तु पत्ता लगाउन टोलीले विशेष प्रविधिको प्रयोग गर्नेछ। टोलीले पानीमुनि तस्बिर लिन र वस्तु पहिचान गर्न सक्ने ‘सोनार क्यामेरा’ र फलामका वस्तु तान्न प्रयोग गरिने शक्तिशाली चुम्बक (म्याग्नेट) जस्ता उपकरण साथमा लगेको छ। कर्णालीको तीव्र बहाव र गहिरो खोँचका कारण साधारण खोजी कठिन भएपछि प्रविधियुक्त टोली मगाइएको हो।
सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित सडकबाट करिब ६–७ सय मिटर तल कर्णाली नदीमा खसेको थियो।
दुर्घटनास्थलबाट करिब ४ सय मिटर तल भिरमा अड्किएको अवस्थामा एक पुरुषको शव शनिबार नै निकालिएको छ। यद्यपि, गाडी र त्यसमा सवार अन्य यात्रुको अवस्था भने अझै अज्ञात छ। गाडीमा चालकसहित कति जना सवार थिए भन्ने यकिन विवरण पनि अझै आउन सकेको छैन।
बेपत्ताहरूको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल गुल्म दैलेख र माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेसको टोली घटनास्थलमै तैनाथ छ। यसबाहेक सुर्खेतस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालयबाट पनि ६ जना गोताखोरसहितको थप मद्दत टोली खटिएको छ।
नदीको बहाव उच्च रहेकाले र सडकबाट नदीसम्मको भूगोल अत्यन्तै अप्ठ्यारो भएकाले उद्धार कार्य निकै चुनौतीपूर्ण बनेको सुरक्षाकर्मीले जनाएका छन्।