खामेनीको अन्त्येष्टिमा उर्लियो जनसागर, ट्रम्पद्वारा शोक अवधिभर आक्रमण नगर्ने प्रतिबद्धता
तेहरान | इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्यापछि इरानमा शोक र राजनीतिक संक्रमणको एउटा नयाँ अध्याय सुरु भएको छ। गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणमा मारिएका खामेनीको अन्तिम संस्कारमा सहभागी हुन राजधानी तेहरानमा दशौँ लाख मानिस सडकमा उत्रिएका छन्।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा भइरहेको बहुदिने अन्त्येष्टि समारोह अवधिभर कुनै पनि पक्षले आक्रमण नगर्ने घोषणा गरेका छन्।
ट्रम्पको विवादित बयान र इरानको कडा जवाफ
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ‘एक्सियोस’सँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले अन्त्येष्टि समारोहमा भेला भएका मानिसहरूलाई लक्षित गर्दै आफूले “सबैलाई एकैपटक समाप्त पार्न सक्ने” भए पनि वार्ताको सम्भावना जीवित राख्न त्यसो नगरेको बताएका छन्। ट्रम्पले इरानी जनताले खामेनीप्रति देखाएको श्रद्धा र आँसुप्रति आश्चर्य प्रकट गर्दै आफूलाई इरानी जनताले उनलाई घृणा गर्छन् भन्ने लागेको टिप्पणी गरेका थिए।
ट्रम्पको यस टिप्पणीको अर्मेनियास्थित इरानी दूतावासले कडा प्रतिवाद गरेको छ। दूतावासले सामाजिक सञ्जाल ‘एक्स’मा लेखेको छ, “मानिसलाई मार्न सकिन्छ, तर विचारलाई होइन। तपाईंले आयातोल्लाह खामेनीलाई मार्नुभयो, तर वास्तवमा तपाईंले एउटा अत्तरको बट्टा फुटाउनुभयो, जसको सुगन्ध अब जताततै फैलिएको छ। तपाईंसँग न सभ्यता छ, न इतिहास, न त सम्मान नै; त्यसैले तपाईंले यी कुराहरू बुझ्न सक्नुहुन्न।”
नयाँ नेतृत्व: मुजतबा खामेनीको उदय र आक्रामक नीति
खामेनीको मृत्युसँगै उनका छोरा मुजतबा खामेनीले सत्ताको बागडोर सम्हाल्न सुरु गरेका छन्। राजनीतिक विश्लेषकहरूका अनुसार नयाँ नेतृत्व आफ्ना पिताको तुलनामा बढी आक्रामक र प्रत्यक्ष मुठभेडको पक्षमा देखिएको छ। मुजतबाले सत्ता सम्हालेलगत्तै छिमेकी देशहरू र क्षेत्रीय शक्तिहरूसँगको सम्बन्धमा नयाँ रणनीति अख्तियार गरेका छन्।
इरानले अब ‘नयाँ सुरक्षा समीकरण’ अन्तर्गत लेबनानको युद्धलाई आफ्नै सुरक्षाको अभिन्न अंग मानेको छ। बेरुतमा हुने इजरायली आक्रमणको बदला इरानले सिधै लिने संकेत दिएको छ। साथै, हर्मुज जलसन्धिमा इरानको नियन्त्रण अझ कडा बनाइएको छ, जसको सन्देश स्पष्ट छ— “यदि इरानमा स्थिरता हुँदैन भने विश्वको तेल व्यापार पनि सामान्य रहने छैन।”
इराकदेखि इरानसम्मको शोक यात्रा
खामेनीको शवलाई इरान ल्याउनुअघि इराकका पवित्र सहरहरू नजफ र कर्बलामा लगिएको थियो। यसलाई शिया विश्वमा इरानको प्रभाव कायमै रहेको सन्देश दिने रणनीतिका रूपमा हेरिएको छ।
अहिले तेहरानमा अत्यधिक गर्मी र ‘हिटवेभ’का बाबजुद मानिसहरू आफ्ना दिवंगत नेताको अन्तिम दर्शनका लागि घण्टौँसम्म लाइनमा बसेका छन्। तेहरानको ग्राण्ड मोसल्ला हलमा शव राखिएको छ, जहाँ स्वयंसेवकहरूले गर्मीबाट जोगाउन पानी र चिसो पेय पदार्थ वितरण गरिरहेका छन्।
भविष्यको अन्योल
वासिङ्टनले इरानमा सत्ता परिवर्तन (Regime Change) को लक्ष्य राखे पनि विश्लेषकहरूका अनुसार यो आक्रमणले प्रणालीभित्रै परिवर्तन ल्याएको छ, जसले इरानलाई थप हठी र सैन्य रूपमा सक्रिय बनाएको छ। अन्त्येष्टि सकिएपछि अमेरिका र इरानबीचको वार्ता कुन मोडमा पुग्छ र मुजतबा खामेनीले देशलाई कुन दिशामा लैजान्छन् भन्नेमा विश्वको ध्यान केन्द्रित भएको छ।(स्रोतः अल्जाजीरा तथा अन्तराष्ट्रिय न्यूज एजेन्सीहरु)