लाङ्टाङ राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या घट्दा राजस्व सङ्कलन प्रभावित
काठमाडौँ, असार २२ । हिमाली पर्यटकीय क्षेत्र लाङ्टाङ राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा पर्यटक आगमनमा आएको ह्राससँगै राजस्व सङ्कलनमा पनि उल्लेख्य कमी आएको छ । पर्यटकको सङ्ख्या घटेपछि निकुञ्ज प्रशासनले पर्यटन प्रवर्द्धनमार्फत आयआर्जन र संरक्षण कार्यलाई सँगसँगै अघि बढाउने रणनीतिमा जोड दिएको छ ।
निकुञ्जको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको तुलनामा यस वर्ष पर्यटकको उपस्थिति न्यून देखिएको छ । अघिल्लो आर्थिक वर्षमा करिब ५६ हजार पर्यटकले निकुञ्जको भ्रमण गरेका थिए भने चालु आर्थिक वर्षको हालसम्म ५० हजार ३६० पर्यटक मात्र यस क्षेत्रमा पुगेका छन् । निकुञ्जका अनुसार यस वर्ष भ्रमण गर्ने पर्यटकमध्ये ३९ हजार ११ जना आन्तरिक, सार्क राष्ट्रका ७८८ जना र अन्य तेस्रो मुलुकका १० हजार ५६१ जना रहेका छन् ।
पर्यटकको सङ्ख्यामा आएको गिरावटसँगै निकुञ्जको राजस्व सङ्कलनमा पनि प्रत्यक्ष असर परेको छ । अघिल्लो आर्थिक वर्षमा पाँच करोड ७७ लाख रुपियाँ राजस्व सङ्कलन भएकोमा चालु आर्थिक वर्षको हालसम्म चार करोड २८ लाख २२ हजार ७५६ रुपियाँ मात्र सङ्कलन भएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।
नेपालको प्रमुख हिमाली पर्यटकीय गन्तव्यका साथै प्रसिद्ध धार्मिक तीर्थस्थल गोसाइँकुण्ड र लाङ्टाङ क्षेत्रले बर्सेनि हजारौँ स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्दै आएको छ । पर्यटनबाट प्राप्त हुने यस राजस्वले निकुञ्जको संरक्षण, जैविक विविधता व्यवस्थापन र स्थानीय समुदायको जीविकोपार्जनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।