उपत्यकामा वर्षा जारी: सडक जलमग्न र डुबान हुन सक्ने भन्दै ‘अलर्ट’ रहन मौसमविद्को आग्रह
काठमाडौँ, २२ असार । मनसुन सक्रिय भएसँगै काठमाडौँ उपत्यकासहित देशका विभिन्न पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। लगातारको झरीले उपत्यकाका मुख्य सडकहरू जलमग्न हुन सक्ने र होचा स्थानमा डुबानको जोखिम बढेको भन्दै जल तथा मौसम विज्ञान विभागले उच्च सतर्कता अपनाउन आह्वान गरेको छ।
हाल मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भू–भागतर्फ सरदर स्थानभन्दा केही दक्षिण र पश्चिमी भू–भागतर्फ सरदर स्थान आसपासमा अवस्थित छ। यसले गर्दा देशभर मनसुनी वायुको प्रभाव कायम रहेको विभागले जनाएको छ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेले उपत्यकामा वर्षा जारी रहेकाले सवारीसाधन चलाउँदा तथा पैदलयात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गर्नुभएको छ। “उपत्यकामा केही समय वर्षा हुने सम्भावना छ। सडकहरू जलमग्न हुन सक्छन् र केही स्थानमा डुबानको जोखिम पनि रहन्छ,” उहाँले भन्नुभयो, “त्यसैले यात्रु तथा सवारी चालकले सडकको अवस्था हेरेर मात्र यात्रा गर्न आवश्यक छ।”
वरिष्ठ मौसमविद् मीनकुमार अर्यालका अनुसार आगामी तीन दिनसम्म देशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ। यद्यपि, हालको मनसुनी प्रणाली अत्यधिक शक्तिशाली नरहेकाले व्यापक रूपमा मुसलधारे वर्षाको सम्भावना भने कम रहेको उहाँको भनाइ छ।
“मनसुनी हावाको प्रभाव देशैभर छ, तर प्रणाली धेरै शक्तिशाली छैन। त्यसैले धेरै आत्तिनुपर्ने अवस्था त छैन, तर पहाडी क्षेत्रका थोरै स्थानमा हुने भारी वर्षाले क्षति पुर्याउन सक्ने भएकाले सतर्क रहनुपर्छ,” वरिष्ठ मौसमविद् अर्यालले स्पष्ट पार्नुभयो।
विभागको पछिल्लो तथ्याङ्क अनुसार हाल बागमती प्रदेशका चितवन र दोलखा, कोशीको सोलुखुम्बू र मोरङ, लुम्बिनीको रोल्पा, अर्घाखाँची र पाल्पामा वर्षा भइरहेको छ। यस्तै, कर्णाली प्रदेशको मुगु तथा सुदूरपश्चिम प्रदेशको कैलाली आसपासका क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षा जारी छ।
वर्षाका कारण नदी र खोलामा पानीको सतह बढ्न सक्ने तथा भिरालो जमिनमा पहिरोको जोखिम रहने हुँदा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई मौसमसम्बन्धी अद्यावधिक सूचनामा ध्यान दिन र सुरक्षा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।