युएईद्वारा १११ नेपाली कैदीबन्दीलाई आममाफी

काठमाडौँ, २३ असार । संयुक्त अरब इमिरेट्स (युएई) सरकारले इद अल–अधा (बकरइद) २०२६ को अवसरमा त्यहाँका विभिन्न कारागारमा सजाय भुक्तान गरिरहेका १११ जना नेपाली कैदीबन्दीलाई शाही आममाफी प्रदान गरेको छ। युएईको यस कदमप्रति नेपाल सरकारले कृतज्ञता र आभार व्यक्त गरेको छ।

परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै युएई सरकारको यस सदाशयतापूर्ण निर्णयको स्वागत गरेको छ। मन्त्रालयले यस आममाफीलाई नेपाल र युएईबीचको सुमधुर द्विपक्षीय सम्बन्ध, गहिरो आपसी मित्रता र हार्दिकताको बलियो अभिव्यक्तिका रूपमा उच्च मूल्याङ्कन गरेको जनाएको छ।

मन्त्रालयको निर्देशन बमोजिम आबुधाबीस्थित नेपाली राजदूतावासले नेपाली नागरिकहरूलाई आममाफी दिन गरेको कूटनीतिक अनुरोधको प्रत्युत्तर स्वरूप युएई सरकारले यो कदम चालेको हो।

आममाफी पाएका नेपाली नागरिकहरू युएईको प्रचलित कानुन बमोजिम आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेपछि नेपाल फर्कन सक्नेछन्। यद्यपि, उनीहरूविरुद्ध अन्य कुनै कानुनी मुद्दा विचाराधीन नरहेको वा कुनै यात्रा प्रतिबन्ध (ट्राभल ब्यान) नलगाइएको अवस्थामा मात्र स्वदेश फिर्ती सहज हुने परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको छ।