मौद्रिक नीतिको सकारात्मक अपेक्षामा सेयर बजार: नेप्से साढे २४ अङ्कले बढ्दा कारोबार रकम ४ अर्ब ४० करोड माथि

काठमाडौँ, २३ असार । पछिल्ला दुई कारोबार दिन लगातार घटेको सेयर बजारमा मंगलबार भने सुधार देखिएको छ। नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि लचिलो र सुधारमुखी मौद्रिक नीति ल्याउने लगानीकर्ताहरूको सकारात्मक अपेक्षासँगै नेप्से परिसूचक २४.५७ अङ्कले बढेर २ हजार ६५१.६८ विन्दुमा पुगेको छ।

केन्द्रीय बैंकले उद्योग, उत्पादन र शिथिल बनेको सेयर बजारलाई पुनर्जीवन दिने गरी नीतिगत सहजीकरण गर्ने अपेक्षामा लगानीकर्ताहरू उत्साहित हुँदा बजार बढेको हो। मंगलबार सेन्सेटिभ इन्डेक्स ४.३३ अङ्क, फ्लोट इन्डेक्स १.७३ अङ्क र सेन्सेटिभ फ्लोट इन्डेक्स १.५७ अङ्कले बढेका छन्।

परिसूचकसँगै यस दिन कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ। सोमबार ३ अर्ब ५५ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएकोमा मंगलबार ३५२ कम्पनीको ९५ लाख १९ हजार कित्ता सेयर ४ अर्ब ४० करोड ७ लाख रुपैयाँ बराबरमा कारोबार भएको छ। यस दिन कुल ७२ हजार २२ पटक सेयर कारोबार भएको थियो।

मंगलबार कालङ्गा हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सो कम्पनीको सेयर मूल्य ६७ रुपैयाँ ३० पैसाले बढेर ५१६ रुपैयाँ ४० पैसा कायम भएको छ। यसैगरी, आरबीबी फोकस ४० को एकाइ मूल्य करिब १४ प्रतिशत र सानिगाड हाइड्रोको सेयर मूल्य साढे १० प्रतिशतले बढेको छ।

कारोबार रकमका आधारमा ऋणपत्र (डिबेन्चर) हरू अग्रस्थानमा रहेका छन्। यस दिन ‘१० प्रतिशत केबीएल डिबेन्चर २०९०’ को सबैभन्दा बढी २० करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भयो। त्यस्तै, ‘१०.३५ प्रतिशत एग्रिकल्चर बैंक डिबेन्चर २०८३’ को करिब १८ करोड रुपैयाँ र ग्लोबल आइएमई बैंकको साढे १६ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ।

मंगलबार कारोबार भएका सबै १३ वटै उपसमूहका सूचकहरू बढेका छन्। जसमध्ये व्यापार उपसमूहको परिसूचक सबैभन्दा बढी १.८९ प्रतिशतले वृद्धि भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *