धान खेतमा ‘कालो सुन’को चमक : अलैँचीले फेरिदिएको माङसेबुङका किसानको जीवन स्तर
काठमाडौँ, असार २४ । कुनै समय इलामको माङसेबुङ गाउँपालिका ३ सिम्लेका कृषक कृष्ण बुढाथोकीज्यूका खेतमा धानका बाला झुल्थे । तर, विगत तीन वर्षदेखि उहाँको खेतको दृश्य बदलिएको छ । २३ रोपनी क्षेत्रफलमा फैलिएको उहाँको खेतमा अहिले धान होइन, ‘कालो सुन’ मानिने अलैँचीका झ्याङहरू लहलहाइरहेका छन् ।
बुढाथोकीले धान फल्ने खेत मासेर अलैँची लगाउनुभएको धेरै समय भएको छैन, तर यसले दिने प्रतिफल भने लोभलाग्दो छ । यो वर्ष मात्रै उहाँले अलैँची बेचेर १७ लाख रुपैयाँ आम्दानी गर्नुभयो । प्रतिमन (४० किलो) एक लाख रुपैयाँका दरले अलैँची बिक्री गर्नुभएका बुढाथोकी भन्नुहुन्छ, “बजार भाउ र उत्पादन दुवै राम्रो भएपछि विदेश जाने सोच नै त्यागिदिएँ ।”
यो सफलताको कथा कृष्णको मात्र होइन, माङसेबुङ २ का अर्का कृषक गणेश लिम्बूको पनि उस्तै छ । उहाँले पनि २५ रोपनी खेतमा अलैँची खेती गर्नुभएको छ । यस वर्ष उहाँले १६ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्नुभयो । ‘धान खेतीमा भन्दा अलैँचीमा नाफा बढी छ, छोराछोरीको पढाइ र घरखर्च यसैले धानेको छ ।” गणेशले खुसी हुँदै सुनाउनुभयो ।
माङसेबुङ ३ चिबुवाका कृषक इन्द्रबहादुर लिम्बुको अनुभवमा परम्परागत शैलीलाई त्यागेर आधुनिकीकरण अपनाउँदा उत्पादनमा वृद्धि भएको छ । उहाँ भन्नुहुन्छ, “पहिले पाखाभित्ता र खोल्सामा मात्र हुने अलैँची अहिले खेत र करेसाबारीमै फल्न थालेको छ । भाउ बढेपछि व्यापारीहरू घरैसम्म किन्न आउनुहुन्छ, बजारको कुनै चिन्ता छैन ।”
किसानहरूलाई व्यावसायिक रूपमा अघि बढाउन माङसेबुङ गाउँपालिकाले पनि विशेष प्रोत्साहन कार्यक्रम ल्याएको छ । गाउँपालिकाले ५० प्रतिशत लागत साझेदारीमा कृषकहरूलाई अलैँचीका बिरुवा वितरण गर्दै आएको छ ।
गाउँपालिकाका कृषि विकास शाखा प्रमुख प्रतीक सुनुवारका अनुसार यस वर्ष मात्रै विभिन्न जातका १६ हजार बिरुवा वितरण गरिएको छ । “मागका आधारमा कृषकहरूले बिरुवा प्राप्त गर्नुभएको छ ।” उहाँले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष हेमन्त राईले कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम निर्माण गरिएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “माङसेबुङमा कृषि क्षेत्रको ठूलो सम्भावना छ । कृषकहरूलाई प्रोत्साहन गर्न आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ प्रभावकारी र निरन्तर बनाउनेछौँ ।”
कुनै समय जीवन निर्वाहका लागि मात्र गरिने कृषि कर्म अहिले माङसेबुङका कृषकहरूका लागि समृद्धिको बलियो आधार बनेको छ ।