इरान–अमेरिका तनाव उत्कर्षमा: इरानद्वारा बहराइन, कुवेत र कतारस्थित अमेरिकी सैन्य आधारमा भीषण क्षेप्यास्त्र प्रहार

 

तेहरान/वासिङ्टन । अमेरिकाले इरानी सहरहरूमा लगातार दोस्रो रात बमबारी गरेपछि इरानले त्यसको प्रतिशोधस्वरूप खाडी मुलुकहरू बहराइन, कुवेत र कतारमा रहेका ‘अमेरिकी सैन्य आधार र रणनीतिक केन्द्रहरू’ मा भीषण आक्रमण गरेको छ।

इरानको यो कदमले मध्यपूर्वमा पूर्णकालीन युद्धको खतरा बढाएको छ। इरानी सरकारी सञ्चारमाध्यमहरूका अनुसार अमेरिकाले इरानको तटीय क्षेत्रमा रहेका बुशेहर, चाबहार, बन्दर अब्बास र सिरिक लगायतका सहरहरूमा गरेको आक्रमणको जवाफमा यो कारबाही गरिएको हो।

अमेरिकाको हवाई हमलामा १४ को मृत्यु
अमेरिकी सेन्ट्रल कमाण्ड (CENTCOM) का अनुसार विगत दुई दिनमा अमेरिकी सेनाले इरानका १७० भन्दा बढी सैन्य लक्ष्यहरूमा आक्रमण गरेको छ। न्युयोर्क टाइम्सका अनुसार ती आक्रमणहरूमा हवाई रक्षा प्रणाली, ड्रोन र क्षेप्यास्त्र भण्डारण केन्द्र, सैन्य डुङ्गा र बन्दोबस्तीका पूर्वाधारहरूलाई निशाना बनाइएको थियो।

इरानी समाचार एजेन्सी ‘मिजान’ का अनुसार अमेरिकी आक्रमणमा इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (IRGC) का तीन सदस्यसहित १४ जनाको मृत्यु भएको छ भने ७८ जना घाइते भएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरू (Strait of Hormuz) भएर चल्ने व्यापारिक जहाजहरूमाथि इरानले गरेको आक्रमणको ‘प्रतिशोध’ स्वरूप यो कारबाही गरिएको बताउनुभएको छ। यद्यपि, राष्ट्रपति ट्रम्पले आफू पूर्ण युद्धको पक्षमा नरहेको विरोधाभासपूर्ण सन्देश पनि दिनुभएको छ, जसले गर्दा आगामी स्थिति कस्तो हुनेछ भन्नेमा अन्योलता बढेको छ।

कतार र युएईद्वारा इरानको कडा निन्दा
इरानले कतार, कुवेत र बहराइनमा रहेका लक्ष्यहरूमा क्षेप्यास्त्र र ड्रोन प्रहार गरेपछि खाडी राष्ट्रहरू आक्रोशित भएका छन्। कतारको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै इरानी आक्रमणलाई क्षेत्रीय सार्वभौमसत्ता र अन्तर्राष्ट्रिय कानुनको ‘घोर उल्लंघन’ भनेको छ। कतारले सबै पक्षलाई संयमता अपनाउन र कूटनीतिक संवादमा फर्कन आग्रह गर्दै आफ्ना छिमेकीहरूको सुरक्षाका लागि चालिने रक्षात्मक कदममा साथ दिने प्रतिबद्धता जनाएको छ।

त्यसैगरी, संयुक्त अरब इमिरेट्स (UAE) ले पनि इरानको आक्रमणको कडा शब्दमा भत्र्सना गरेको छ। युएईको विदेश मन्त्रालयले बहराइन र कुवेतसँग ऐक्यवद्धता प्रकट गर्दै यी आक्रमणहरूले क्षेत्रीय स्थिरतामा गम्भीर खतरा पैदा गरेको जनाएको छ।

खामेनीको अन्त्येष्टि र बढ्दो आक्रोश
यसैबीच, मारिएका इरानी सर्वोच्च नेता अली खामेनीको आज उहाँको गृहनगर मशहदमा अन्त्येष्टि गरिँदैछ। यसअघि इराकको नजफ र कर्बलामा लाखौं मानिसहरूले उहाँको शवयात्रामा भाग लिएका थिए। खामेनीको मृत्यु र अमेरिकी हमलाले इरानी जनतामा अमेरिकाप्रति तीव्र आक्रोश पैदा गरेको छ।

युद्धको जोखिम र विश्वव्यापी चिन्ता
पछिल्लो दुई दिनमा भएका आक्रमणहरू जुन महिनामा भएको तनावको तुलनामा १४ गुणा बढी रहेको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ। बुधबारदेखि सुरु भएको यो हमलाले यसअघि कायम रहेको युद्धविरामलाई पूर्ण रूपमा समाप्त गरिदिएको छ। अन्तर्राष्ट्रिय समुदायले खाडी क्षेत्रमा बढ्दो यो तनावले विश्वव्यापी तेल आपूर्ति र सुरक्षामा ठूलो धक्का लाग्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।