साताको अन्तिम दिन नेप्सेमा सामान्य गिरावट: ऋणपत्रको उच्च कारोबारले टर्नओभर ६ अर्ब ८६ करोड नाघ्यो

काठमाडौँ, २६ असार । साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचकमा सामान्य गिरावट देखिएको छ। अघिल्लो कारोबार दिनको ओरालो यात्रालाई पछ्याउँदै आज नेप्से परिसूचक १.१३ अङ्कले घटेर २६००.७८ विन्दुमा ओर्लिएको छ। परिसूचकमा स्थिरता देखिए पनि कारोबार रकममा भने उल्लेख्य बढोत्तरी भएको छ।

आजको बजारमा नेप्से परिसूचकसँगै अन्य महत्त्वपूर्ण सूचकहरू पनि झिनो अङ्कले नकारात्मक रहेका छन्। ‘सेन्सेटिभ इण्डेक्स’ ०.५८ अङ्कले घट्दा ‘फ्लोट इण्डेक्स’ ०.१५ अङ्क र ‘सेन्सेटिभ फ्लोट इण्डेक्स’ ०.१९ अङ्कले ओरालो लागेको छ। यसले बजारका ठुला र ‘ब्लु चिप’ कम्पनीहरूमा लगानीकर्ताको आकर्षण केही घटेको सङ्केत गर्दछ।

परिसूचक घटे पनि आज कारोबार रकममा भने ठुलो सुधार देखिएको छ। बिहीबार ४ अर्ब ६१ करोडको कारोबार भएकोमा आज ३६७ कम्पनीको ८४ लाख ६३ हजार कित्ता सेयर रु ६ अर्ब ८६ करोड ७ लाख १८ हजारमा किनबेच भएको छ।

आजको कारोबारमा सेयरभन्दा ऋणपत्रको बाहुल्यता देखिनु बजारको मुख्य विशेषता रह्यो। सर्वाधिक कारोबार हुने १० स्टकहरूमध्ये ९ वटा ऋणपत्र रहेका छन्। नेपाल बैंक डिबेञ्चर २०८७काे करिब ९० करोडको कारोबार भएका छन् भने आरबिबिएल डिबेञ्चर २०८३काे ७० करोडको कारोबार भएकाे छ । त्यस्तै सानिमा डिबेञ्चर २०८७काे २८ करोड ५० लाखको कारोबार भएकाे छ ।

आजको बजारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक १०.६६ प्रतिशत मुनाफा कमाएका छन्। त्यस्तै, कुमारी इक्विटी फण्डको मूल्य ९ प्रतिशत र कालंगा हाइड्रोको ७ प्रतिशतले बढेको छ। अर्कोतर्फ, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्यमा सर्वाधिक ७.८४ प्रतिशतको गिरावट देखिएको छ।

कारोबारमा आएका १३ उपसमूहमध्ये आज ६ उपसमूहको सूचक बढेको छ भने ७ उपसमूह राताम्मे रहेका छन्। व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.२७ प्रतिशतले बढेको छ। लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त र बिमा उपसमूहमा भने सामान्य सुधार देखिएको छ।