गृहमन्त्री कन्टेन्ट क्रियटर बनेर चलचित्रको नायक बन्न नखोजेको भए, गणेश नेपालीको ज्यान बच्ने थियोः ज्ञानेन्द्र शाही
काठमाडौं, २६ असार । गणेश नेपालीले आत्मदाह प्रयास गरेको घटनामा संघीय सरकारले उद्दारमा भन्दा कन्टेन्ट उत्पादनमा बढी ध्यान दिदाँ थप अप्रिय घटना घटेको भन्दै सांसद ज्ञानबहादुर शाहीले विरोध गर्नुभएको छ ।
‘गृहमन्त्रीजीलाई भन्न चाहन्छु, तपाईँ गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ?,’ उहाँले भन्नुभयो, ‘गृहमन्त्रीले हिजो चलचित्रको नायक जस्तै मिडिया घेरेर कहिले एयरपोर्ट, कहिले कता, कहिले उता दौडिरहनु भएको थियो क्यामेरा बोकेर । यदि साच्चिकै उपचार गर्ने उदेश्य थियो भने आज गणेश नेपालीको मृत्यु हुने थिएन । आज उनको जीवन बाँच्ने थियो । हामीलाई गृहमन्त्रीले युटुवरहरु कति चलायो, गृहमन्त्री कता गयो, युट्युवमा कति कन्टेन्ट क्रियट गर्यो त्यो महत्वपूर्ण होइन । महत्वपूर्ण कुरा गृहमन्त्रीको आदेशबाट जीवन बाँच्यो कि बाँचेन भन्ने कुरा हो ।’
शाही त्यतिमा मात्रै रोकिनु भएन । उहाँले सुविधा सम्पन्न अस्पतालमा बेलैमा उपचार गर्दिएको भए, एयर एम्बुलेन्सहरु पुर्याइदिएको भए, एयरपोर्टमा दौडिनुको सट्टा एउटा जहाज मात्रै पठाइदिएको भए गणेश नेपालीको ज्यान बाँच्ने थियो भन्दै दिल्ली पुग्न बढीमा दुई घण्टा मात्रै लाग्ने उल्लेख गर्नुभयो । ‘तर, कन्टेन्ट क्रियटर लाइक, भ्युज पाउनका लागि गरिने गतिविधिले एकछिन त वाह, वाह भन्ला तर अन्त्यमा यस्ले घाटा नै गर्छ,’ उहाँले भन्नुभयो, ‘त्यसकारण गृहमन्त्रीलाई कन्टेन्ट क्रियटर नबनी जिम्मेवार र देशको वास्तविक गृहमन्त्री बन्न म आग्रह गर्छु । गहृमन्त्री र मन्त्रीज्युहरुलाई सडकमा चटक देखाउने होइन काम गर्नका निम्ति आदेश दिने हो आदेशको पालना भयो कि भएन हेर्ने र कार्यान्वयन भयो कि भएन यदि भएन भने कार्यान्वयन गराउने हो । हिजो सडकमा प्रदर्शन गर्नु भन्दा गणेश नेपालीलाई हिजो नै नेपाल वायुसेवा निगमको जहाजबाट उद्दारगरेर इन्डिया पुर्याएको भए यो अवस्था हुने थिएन ।’
प्रतिनिधिसभाको गेट अघि इलामका प्रेमप्रसाद आचार्यले आत्मदाह गरेको घटना पनि उहाँले स्मरण गर्नुभयो । ‘फेरि हिजो मुगुका गणेश नेपालीले आत्मदाह गर्नुपर्यो । उनीहरुको पीडा एउटै थियो । त्यो हो यहि देशमा गरेर खान पाउँ । सरकार फेरियो, कुर्सी फेरियो तर जनताको पीडा फेरिएन । सरकार र कुर्सी फेरिनु महत्वपूर्ण कुरा रहेनछ,’ उहाँले भन्नुभयो, ‘महत्वपूर्ण कुरा जनताको जीवन फेरिनु पर्ने रहेछ । सरकारले पछिल्लो समय जनताको जीवन सहज बनाउने होइन झन कठिन बनाउने नीति बनायो । सरकारको नारा राम्रो छ– ‘गरिबको चमेली बोल्दिने कोही छैन’, ‘बोल्न दे सरकार, मनको कुरा खोल्न दे सरकार ’ तर गरिबलाई सरकारले करमाथि कर थुपारेको छ ।’