इरानका नयाँ सर्वोच्च नेताद्वारा ‘बदला’को उद्घोष, ट्रम्पद्वारा इरानलाई ध्वस्त पार्ने चेतावनी
तेहरान/वासिङ्टन । इरानका नवनियुक्त सर्वोच्च नेता मोज्तबा खामेनीले आफ्ना पिता आयतोल्लाह अली खामेनीको हत्याको कडा बदला लिने प्रतिवद्धता व्यक्त गरेका छन्। यसको केही घण्टाअघि मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफूमाथि कुनै पनि आक्रमणको प्रयास गरे इरानलाई “पूर्ण रूपमा ध्वस्त” पार्ने चेतावनी दिएका थिए।
इरानको सरकारी समाचार एजेन्सी ‘फार्स’का अनुसार सर्वोच्च नेता मोज्तबाले एक सन्देश जारी गर्दै आफ्ना पिताको हत्यामा संलग्नहरूलाई नछोड्ने चेतावनी दिएका हुन्। “बदला लिनु हाम्रो राष्ट्रको माग हो र यो पक्कै पनि पूरा गरिनेछ,” सन्देशमा भनिएको छ, “अपराधीहरूले ओछ्यानमा शान्तिपूर्ण मृत्युको सपना नदेखे हुन्छ। यो बदला म र अन्य अधिकारीहरूको उपस्थिति वा अनुपस्थितिमा पनि ‘चाँडै’ लिइनेछ।”
गत फेब्रुअरीमा इजरायल र अमेरिकाले गरेको संयुक्त सैन्य कारबाहीमा तत्कालीन सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएका थिए। सोही आक्रमणमा मोज्तबाका आमा र श्रीमतीको पनि मृत्यु भएको थियो भने मोज्तबा आफैँ घाइते भएको विश्वास गरिन्छ।
अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै इरानी नेतृत्वले आफूलाई निशाना बनाएमा इरानका सबै क्षेत्रलाई “पूर्ण रूपमा तहसनहस र नष्ट” गरिदिने धम्की दिएका छन्। इजरायली खुफिया एजेन्सीले ट्रम्पको हत्याका लागि इरानले षडयन्त्र गरिरहेको सूचना अमेरिकी प्रशासनलाई दिएपछि ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो।
अमेरिकी अधिकारीहरूले तेहरानभित्रका केही कट्टरपन्थी समूहहरूले ट्रम्पमाथि आक्रमण गर्न चाहेको बताए पनि हालसम्म कुनै ठोस र नयाँ योजनाको प्रमाण नभेटिएको उल्लेख गरेका छन्।
आफ्ना पिताको मृत्युपछि सर्वोच्च नेता चुनिएका मोज्तबा खामेनी फेब्रुअरीदेखि नै सार्वजनिक रूपमा देखिएका छैनन्। उनले आफ्ना समर्थकहरूसँग केवल लिखित सन्देशमार्फत मात्र संवाद गरिरहेका छन्। हालै सम्पन्न आफ्ना पिताको अन्त्येष्टि समारोहमा समेत उनी उपस्थित नभएको बताइएको छ, जसले उनको स्वास्थ्य र अवस्थितिलाई लिएर थप संशय पैदा गरेको छ।
इरानी स्वास्थ्य मन्त्रालयका अनुसार अन्त्येष्टिमा करिब १ करोड ५० लाख मानिस सहभागी भएका थिए, यद्यपि यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन।
यसैबीच, इरान र अमेरिकाबीच बढ्दो तनावका कारण हर्मोज जलसन्धि मा व्यापारिक जहाजहरूको आवागमन सुस्त भएको छ। यो समस्या सुल्झाउन इरानी विदेशमन्त्री अब्बास अराक्ची ओमान पुगेका छन्। मध्यस्थकर्ताहरूले दुई देशबीच वार्ता गराउने प्रयास गरिरहेका छन्।
अमेरिकी अधिकारीहरूले इरानले छिट्टै हर्मोज जलसन्धि खुला रहेको र व्यापारिक जहाजमाथि आक्रमण नगर्ने प्रतिवद्धता जनाउने अपेक्षा गरेका छन्। तर, इरानी विदेशमन्त्री अराक्चीले भने अमेरिकाले सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै आवश्यक परे ‘पूर्ण रक्षा’का लागि तयार रहेको चेतावनी दिएका छन्। ट्रम्पले भने यसअघिको सम्झौता “सकिएको” घोषणा गरिसकेका छन्।